रवीन्द्र मिश्रले पार्टी अध्यक्षबाट राजीनामा दिएपछि विवेकशील साझाको झनै बेहाल भएको छ । केन्द्रीय समितिको बैठक बोलाएर अघि बढ्नुपर्ने पक्षमा पार्टीका नेताहरु रहेपनि बैठक कसले बोलाउँने र अध्यक्षता कसले गर्ने भन्ने विषयमा अन्यौलता छ ।
स्थानीय निर्वाचनमा नराम्रो पराजय बेहोरेको विवेकशील साझा नेतृत्वबिहिन अबस्थाबाट गुज्रदा अस्तित्व रक्षाको संकटतर्फ धकेलिएको छ । पार्टी विघटन या पुनर्गठन भन्ने विषयमा साझाका नेताहरु नै अन्यौलमा देखिन्छन् ।
छिन्नभिन्न अवस्थामा पुगेको पार्टीलाई एकजुट बनाउने अभियानमा केही नेताहरु लागेपनि सर्वस्वीकार्य नेतृत्व भेट्न नसक्दा केन्द्रीय समितिको बैठक नै आह्वान हुन सकेको छैन । मिलन पाण्डे समुह पार्टी राजनीतिबाट अलग भएर स्वतन्त्र अभियानमा लागेको छ भने रवीन्द्र मिश्र समुह र निर्देश सिलवाल समुहले ठोस निर्णय गर्न सकेको छैन ।
अनौपचारिक भेटघाट र छलफललाई भने दुवै समुहले तीव्रता दिएका छन् । यसअघि एकले अर्कालाई निषेध गरेर अघि बढेका दुबै समुहका नेताहरु अब भने निषेधको मनस्थितीमा छैनन् ।
यसअघि रवीन्द्र मिश्रको कार्यशैलीसँग असन्तुष्ट रहेका महेन्द्रकुमार थापा लगायतका नेताहरु मिश्रले राजीनामा दिइसकेको अबस्थामा मिश्रको खोइरो खनेरै दिन बिताउन नहुने पक्षमा छन् । विवेकशील साझाका सबै समुहलाई एकै ठाउँमा ल्याएर पार्टीलाई नयाँ जीवन दिनुपर्ने भन्दै थापा सहितका नेताहरु विभिन्न पक्षसँगको भेटघाटमा व्यस्त देखिन्छन् । पार्टी छाडेर गइसकेका मुमाराम खनाल, डा.सूर्यराज आचार्य सहितका व्यक्तिलाई फेरि पार्टीमा फर्काउने र नयाँ जीवन दिने ध्याउन्नँमा थापा लगायतका नेताहरु लागिपरेका छन् । रवीन्द्र मिश्रदेखि लिएर मिलन पाण्डे र निर्देश सिलवाल सम्मका समुहलाई एकै ठाउँमा ल्याउने प्रयासमा आफूहरु रहेको उनीहरुको भनाई छ ।
विवेकशील साझाको एउटा समुहले भने किशोर थापालाई अग्रसरता लिएर पार्टीको बैठक बोलाउँनका लागि आग्रह गरेको छ । तर, थापाले खासै चासो नलिएको बुझिएको छ । किशोर थापा अब अनावश्यक झमेलामा नपर्ने मनस्थितीमा रहेको उनी निकटका एक नेताको भनाई छ । किशोर थापाले चासो नलिएपछि साझाका अर्का संस्थापक प्रकाशचन्द्र परियारलाई अघि सार्ने तयारीमा त्यो समुह लागिपरेको छ । तर, प्रकाशचन्द्र परियार पनि आफू विवादित काममा अगाडि नबढ्ने पक्षमा देखिन्छन् ।
उता पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आफूहरुको बहुमत रहेको दाबी सहित निर्वाचन आयोग पुगेको भीमप्रसाद अधिकारी समुहले पनि बैठक बोलाउँने र बैठकको अध्यक्षता गर्ने आँट गरेको छैन ।
ज्यष्ठ या कनिष्ठताका आधारमा बैठक बोलाउने विषयमा नेताहरुबीच अनौपचारिक छलफलहरु भने दिनहुँजसो भइरहेका छन् । तर, तत्कालै बैठक बोलाइहाल्ने अबस्था भने नरहेको पार्टीका एक नेताको भनाई छ । उनी भन्छन्, ‘ अबस्था यस्तै रहिरहयो भने विवेकशील साझाका नेताहरु लाखापाखा हुन्छन् । र, यो पार्टी मियो बिनाको दाइँ भएर सिद्दिन्छ ।’








