Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

मन्त्रीहरुको पद २ दिनलाई मात्रै थमौती, बिहिबार नयाँ मन्त्रीहरुको इन्ट्री


एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता गराएर सोमबार बेलुकी नै नयाँ मन्त्रीहरुलाई सपथ गराउने कार्यक्रम थियो । तर, न त सरकारमा रहेका मन्त्रीहरु फिर्ता भए न त नयाँ मन्त्रीहरुको सपथ नै भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा पुगेको नयाँ मन्त्रीहरुको लिष्ट त्यत्तिकै थन्कियो । मन्त्री पदको सपथका लागि सिलाइएको दौरा सुरुवाल खेरै गयो भनेर कतिपयले सामाजिक सञ्जालमा टिप्पणी पनि गरे । तर, सपथका लागि तयार गरिएका दौरा सुरुवाल खेर नजाने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालका लागि मन्त्रीपरिषद पुनर्गठनको काम थाँती राखेको भएपनि दुई दिनपछि पुनर्गठन गर्ने तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार पुनर्गठनको साइत २६ गते बिहिबारका लागि जुराइएको छ ।

गठबन्धन सरकार रहेका कारण गठबन्धनमा भएका सबैको कुरा सुन्नुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा रहेकाले २ दिनका लागि पुनर्गठनको काम थाँती राखिएको हो । प्रधानमन्त्री देउवाले लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी गरिरहेका कारण सबैलाई एकैपटक सपथ गराउन चाहेका छन् । नागरिकता विधेयकमा सरकारले प्रतिबद्धता जनाए महन्थ ठाकुर नेतृत्वको लोसपा सरकारमा सहभागी हुने मनस्थितीमा छ ।

उता जसपाका तर्फबाट पनि मन्त्रीहरुको हेरफेर गर्ने तयारी भएका कारण पटकपटक मन्त्रीपरिषद पुनर्गठन गरिरहनु भन्दा एकैपटक धन्दा छिन्ने सोचमा प्रधानमन्त्री देउवा रहेको बुझिएको छ । जसपाले आफ्ना तर्फबाट सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको सूची प्रधानमन्त्री देउवालाई यसअघि नै बुझाइसकेको छ ।

लोसपासँगको सहमति २ दिनमा गरिसक्ने र, २६ गते बिहिबार साँझसम्म मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारी देउवाको रहेको बालुवाटार स्रोतको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार