२० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था सरकारले पुनरावलोकन गर्ने तयारी गरेको छ ।
बुधबारको संसद बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद कोइरालाले संसदलाई यससम्बन्धी जानकारी गराएका हुन् ।
२० वर्ष नभई बिहे गर्न नपाउँने प्रावधान वैज्ञानिक नभएको तर्क गर्दै उनले सरकारले यसमा पुनरावलोकन गर्ने बताए । १६ वर्षमै नागरिकता लिन पाउँने, १८ वर्षमा मतदान गर्न पाउँने अनि बिहेका लागि चाहिँ २० वर्ष कुर्नुपर्ने प्रावधान सही नभएको उनको तर्क छ ।
२० वर्षे उमेरको हदबन्दीका कारण समाजमा आपराधिक घटना घटेको भन्दै उनले यो विषयमा पुनर्विचार गर्ने बताए ।
केही सांसदहरुले यसअघि बिहे गर्न पाउने उमेर घटाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।








