हुम्लामा गर्मी बढेसँगै ठेउला रोग देखापरेको छ ।
उत्तरी नाम्खा गाउँपालिका –४ स्थित याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीको छात्राबासमा बस्ने विद्यार्थीहरूमा ठेउला रोग देखापरेको हो ।
५७ जना विद्यार्थीहरूमा ठेउला जस्तो लक्षण देखिने रोग देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । जाँच र परीक्षणका लागि नमुना संकलन कार्य भइसकेको उनले बताए । पालिकाको स्वास्थ्य टिम र जिल्लाबाट गएको टिमले संयुक्त रुपमा उपचारका लागि खटिएको उनले जानकारी दिए । संकलन गरिएको नमुना आज सुर्खेत पुगिसक्ने सिंहको भनाइ छ ।
कस्तो प्रकारको ठेउला हो भन्ने कुरा नमुना जाँच पछि मात्र भन्न सकिने उनले बताए । सदरमुकाम सिमकोटबाट दुई दिन हिँडेर मात्र रोग प्रभावित गाउँमा पुग्न सकिन्छ । पाक्ने, चिलाउने, फोका उठेको ठाउँमा खाल्डो पर्ने भएकाले ठेउला नै हो भन्ने एकीन नभएको नाक्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । सरसफाइको कमिका कारण धेरै विद्यार्थीमा यस्तो समस्या देखा परेको उनले बताए ।
ठेउला हो की होइन भन्ने कुरा नमुनाको जाँच पछि आउने रिर्पोटले बताउने उनले बताए ।





