Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

रुँदै मन्त्रालय छाडेकी रामकुमारी झाँक्रीले मन्त्री क्वार्टर छाडिनन्


रुँदै मन्त्री पदबाट बिदा लिएकी रामकुमारी झाँक्रीले मन्त्री क्वार्टर छाड्न आलटाल गरेकी छिन् । एकैदिन मन्त्री पदबाट बिदा भएका अन्य मन्त्रीहरुले मन्त्री क्वार्टर छाडेपनि उनले मन्त्री क्वार्टर र सरकारी गाडी छाड्न नमानेको बुझिएको छ । यस विषयमा उनको प्रतिकृया लिन खोज्दा उनले फोन रिसिभ गरिनन् ।

मन्त्री झाँक्रीले क्वार्टर छाड्न आलटाल गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा उनको व्यापक विरोध भएको छ । मन्त्रालय छाड्दा रोएकी मन्त्रीलाई क्वार्टर छाड्न पनि किन यति गाह्रो भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उनीमाथि खनिएका छन् ।

राम्रो राजनीतिक सम्भावना भएको भनिएकी रामकुमारी झाँक्रीका पछिल्ला गतिविधीले उनी आलोचनाको पात्र बनेकी हुन् । कतिपयले पूर्वराजा ज्ञानेन्द्र शाह र उनको तस्वीर सँगै राख्दै राजाले हाँसीहाँसी दरबार छाडेको तर, ८ महिना मन्त्री भएकी झाँक्रीलाई मन्त्रालय छाड्दा खपिनसक्नु भएको भन्दै व्यंग्य गरेका छन् ।

वानेश्वर शंखमुलमा घर भएकी झाँक्रीले मन्त्री पद गएपछि पनि मन्त्री क्वार्टरमा नै बस्नुलाई उनका शुभेच्छुकले समेत रुचाएका छैनन् । उनी निकटका एक नेताले भने अबको एक साताभित्रमा झाँक्रीले मन्त्री क्वार्टर छाडिसक्ने जानकारी दिए । यद्यपि क्वार्टर नछाड्नुको कारण भने उनले बताउन चाहेनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार