नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता प्रकाश रोकायाले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् ।
बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता रोकायाले माओवादी केन्द्र परित्यागको घोषणा गरेका हुन् । माओवादी केन्द्रबाट नेपालको कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने निष्कर्षका साथ माओवादी परित्याग गरेको उनको भनाइ छ ।
माओवादी केन्द्रले लाखौं कार्यकर्ताको भविष्यमाथि खेलबाड गरेको आरोप लगाउँदै नेता रोकायाले जनयुद्धका घाइते, अपांग लगायतलाई माओवादीले अलपत्र पारेको आरोप लगाए । आफू मात्रै नभई कर्णाली प्रदेशका हजारौं युवाहरु माओवादी केन्द्र परित्यागको तयारीमा रहेको दाबी गर्दै उनले अब कोही पनि प्रचण्डका पछि नलाग्ने बताए ।
माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिदै उनले नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफू पुनः एमाले फर्कन लागेको बताए । नेता रोकाया २०७१ सालमा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।





