Logo
१० जेष्ठ २०८२, शनिबार
|  Sat May 24 2025

राप्रपा छाड्नेको लहर, कहाँ चुके लिङदेन ?


राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा राजेन्द्र लिङदेन आएपछि राप्रपा प्रवेश गर्नेको लहर देखिएको थियो । स्थानीय निर्वाचनको मुखमा सडकमा रहेका विभिन्न अभियन्ता र समुहहरु धमाधम राप्रपा प्रवेश गरे । तर, राप्रपा प्रवेश गर्नेको लहर जुन रुपमा देखिएको थियो पछिल्ला केही दिनयता राप्रपा छाड्नेको लहर पनि त्यही रुपमा देखिन थालेको छ ।

राजेन्द्र लिङदेनले विभिन्न विभागको जिम्मेवारी दिएका विभागका प्रमुखहरुले नै राप्रपा त्यागिसेकका छन् । आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएकी ज्वाला संग्रौलालाई राजेन्द्र लिङदेनले जेठ अन्तिममा सामाजिक विभागको प्रमुख बनाएका थिए । तर, उनले केहीदिनअघि राप्रपाको साधारण सदस्य समेत नरहनेगरी राप्रपाबाट बाहिरिएको घोषणा गरिन् ।

राप्रपाबाट ज्वाला संग्रौला बाहिरिएकै आसपासमा खेलकुद विभागका प्रमुखले पनि राप्रपा परित्याग गरे । खेलकुद विभागका प्रमुख रहेका दमन बस्नेतले राप्रपाको साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट राजीनामा दिएको घोषणा गरे ।

लामो समयदेखि सडकमा राजसंस्था र हिन्दू राष्ट्रको वकालत गर्दै आएका स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवाल पनि नागरिक समाजका केही सदस्य सहित चैत अन्तिममा राप्रपा प्रवेश गरेका थिए । तर, स्थानीय तहको चुनाव सकिए लगत्तै उनी पनि आफ्नो टीम सहित राप्रपाबाट बाहिरिए । अहिले उनी उस्तै एजेण्डा बोेकेको नेस्नलिष्ट पिपल्स पार्टी नामक नयाँ राजनीतिक दलको सञ्चार विभाग प्रमुख बनेका छन् ।

चर्चामा नरहेका तर, यसअघि पार्टीका सभाहरुमा ह्वारह्वारी प्रवेश गरेका धेरै नेताहरु बाहिरिसकेको बुझिएको छ । पार्टी प्रवेशको लहरकै गतिमा पार्टी छाड्नेहरुको लहर पनि देखिन थालेपछि अहिले राप्रपामा तनावको स्थिती सिर्जना भएको राप्रपाका एक नेताले बताए ।

लिङदेनले विश्वास गरेर जिम्मेवारी दिएका अन्य केहीले पनि राप्रपा छाड्ने तयारी गरिरहेको उनको भनाई छ । ती नेता भन्छन्,‘ लिङदेन खराब मान्छे होइनन् तर, पार्टीलाई ठूलो बनाउँने महत्वाकांक्षामा उनले को खराब को असल भन्ने छुट्याउन जानेनन् । जे आउँछ मजाले पचाउँछ भन्ने हजमोलाको विज्ञापन जस्तै जो भेटिन्छ उसैलाई विभिन्न विभागको जिम्मेवारी दिनतिर लिङदेन लागे । ’

राप्रपाबाट बाहिरिएका केहीले भने भूमिकाबिहिन अवस्थामा पार्टीमा बस्नु परेपछि पार्टी छाडेको बताएका छन् । पार्टी प्रवेशका क्रममा विभिन्न पदको लोभ देखाइएपनि त्यो पूरा नगरेपछि बाहिरिएको उनीहरुको तर्क छ ।


प्रतिक्रिया दिनुहोस !
विचार