नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाल्यकालदेखि नै आफूलाई कलाकार बन्ने रहर रहेको बताएका छन् । आज जमलस्थित नाचघरमा आयोजित ‘राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड-२०७८’मा सहभागी भएका प्रचण्डले नेता नभएको भए कलाकारिता क्षेत्रमा लाग्न सक्ने अनुमान गरे ।
‘गीतसंगीत, संस्कृति र खेलकुद भनेपछि मेरो लठ्ठै पर्ने बानी छ। म निकै भावुक छु। सम्मानित भएको कलाकारहरुलाई देख्दा म पनि यस्तै भएको भए हुन्थ्यो होला लागिरहेको छ। सानोमा मैले गीत संगीत र नाच्नेमा करियर लैजाने होकी भनि सोचेको थिए। तर इच्छा भएर पनि परिस्थितिले साथ दिएन। नत्र म पनि कलाकार नै हुन्थे होला जस्तो लाग्छ’ उनले भने।
कला संस्कृति र खेलकुदको क्षेत्र भनेको राष्ट्रलाई एकताबद्ध गर्ने र प्रतिष्ठा बढाउने विधा भएको प्रचण्डले बताए। राजनीतिक कार्यक्रम ‘निरस र भावरहित’ हुने उनको तर्क छ।
‘राजनीतिक कार्यक्रममा घोचपेच र अझ अचेल त गालीगलौज नै हुन थालेको छ।’ प्रचण्डले भने-‘त्यस्तो कार्यक्रमको चटारोबाट यस्तो रसिलो, भावुक, संगीतमय र लोकसंस्कृती झल्किने कार्यक्रममा आउन पाउँदा रिल्याक्स महसुस गरेको छु।’





