
धरान उपमहानगरपालिकाले मेयर चढ्नका लागि भनेर किनेको गाडी बिक्री गरी रोलर किन्ने निर्णय गरेको छ । बिहिबार बसेको कार्यपालिकाको बैठकबाट सो निर्णय पारित भएको हो ।
धरानका मेयर हर्क साम्पाङले आफुलाई चढ्न भनेर किनेको गाडी बिक्री गरी रोलर किन्ने प्रस्ताव गरेका थिए । ‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,’ मेयर साम्पाङले भने ।
मेयर निर्वाचित भए पनि साम्पाङ प्राय जसो उनी आफ्नो मोटरसाइकल प्रयोग गर्ने गर्छन् । धरान बाहिर जानुपरे मात्रै उनले सरकारी गाडी चढ्ने गरेका छन् ।
मेयर साम्पाङले धेरैजसो आफ्नो बाइक प्रयोग गर्ने भएकाले उनलाई गाडि नचाइएका कारण गाडी बेचेर रोलर किन्ने निर्णय गरेको प्रवक्ता सुर्य बहादुर भट्टराईले आजको प्रेसलाई जानकारी दिए ।
उनका अनुसार गाडी बिक्रीका लागि कानुनी प्रक्रियाको काम अगाडी बढेको छ ।
मेयर साम्पाङले आफ्नो सामाजिक संजालमा रोलरको फोटो हाल्दै लेखेका छन् :
मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो ! आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ ! जय धरान !