Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

जब नेकपाका महासचिव ‘विप्लव’ कर्मनाशा खोलामा उत्रिए……


बलराम प्यासी
ललितपुर, २५ असार । पछिल्लो समय भ्रष्टाचारी न्यायाधिशहरुलाई घरघरबाट थुतेर कुट्ने अभिव्यक्ति दिएर चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ शनिबार खुट्टामा कालो बुट र हातमा सेतो पञ्जा लगाएर कर्मनाशा खोलामा पसे । उनले निलो र सेतो रंगको टिसर्ट र कालो पाइन्ट लगाएका थिए । विप्लव माछा मार्न र न्यायाधिश खोज्न खोलामा पसेका भने थिएनन् ।

काठमाडौं जिल्ला अदालतमा विचाराधिन मुद्धाका एकजना हाई प्रोफाइलका थुनुवा (एमालेका पुर्व सांसद एवम् सिभिल वचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष इच्छाराज तामांग) लाई छुटाउन २ करोड घुस मागेको प्रकरणमा न्यायधिश र अधिवक्ताबीचको वार्ता सार्वजनिक भएपछि विप्लवले न्यायाधिशहरुलाई लक्षित गरेर सार्वजनिक समारोहमै कडा प्रतिक्रिया दिएका थिए ।

यो अभिव्यक्तिसंगै विप्लवले आफ्नो पार्टीमा लागेका युवा विद्यार्थीलाई पक्रेर झुटट मुद्धा लगाई उनीहरुलाई ५ देखि १० लाख रुपैयाँ धरौटी तिर्न लगाउने न्यायाधिशलाई समेत घरघरबाट थुतेर कुट्ने भनेका थिए ।

तिनै क्रान्तिकारी अभिव्यक्ति दिएर चर्चामा रहेका महासचिव विप्लव शनिबार ललितपुरको सिर्जनशिप सेवा प्रालि खुमलटारले आयोजना गरेको कर्मनासा खोला सरसफाई कार्यक्रममा सहभागी मात्रै भएनन् । खोलामै पसेर डेढ घण्टासम्म फोहोर टिपेर खोलाको सरसफाई समेत गरेको सिर्जनशिप सेवा प्रालिका अध्यक्ष एवम् प्रवन्ध निर्देशक तथा सफाई अभियन्ता सहदेव संकल्प राउतले बताए ।

विगत लामो समयदेखि सरसफाई कार्यमा संलग्न रहेको संस्था सिर्जनशिप सेवा प्रालिको ट्रान्सफरमर स्टेशन अगाडि धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ्ग कलेज नजिकबाट सो प्रालिका कर्मचारी, आफ्नो पार्टीका कार्यकर्ता र कर्मनाशा खोला करिडोरका वासिन्दासंग मिलेर महासचिव विप्लव सरसफाईको लागि खोलामा उत्रिएका थिए ।


उनी सरसफाईमा सहभागी हुने कुरा आयोजकले शनिबार विहान मात्रै चाल पाएका थिए । राजनैतिक कार्यक्रम वाहेक सामाजिक काममा खासै देखा नपर्ने विप्लव पहिलोपटक कर्मनाशा खोलाको सफाईमा उत्रिएको देख्दा सबैजना चकित देखिन्थे ।

ललितपुर महानरगपालिका वडा नं २८ मा रहेको नेपाल कम्युनिष्ट पार्टीको सम्पर्क कार्यालयमा आएको मौका छोपेर विप्लव खोला सफाईमा जुटेका थिए । यसअघि उनले सिर्जनशिप सेवा प्रालिको गतिविधिबारे सो संस्थाका कार्यक्रम संयोजक खगेन्द्र विष्टसंग जानकारी लिएका थिए ।
विप्लव लगायत सो संस्थाका पदाधिकारी तथा कर्मचारी र कर्मनाशा खोला करिडोर आसपासका वासिन्दाले गरि शनिबार सो खोलाबाट करीव ५ टन फोहोर संकलन गरेको सिर्जनशिप सेवा प्रालिका अध्यक्ष एवम् प्रवन्ध निर्देशक सहदेव संकल्प राउतले बताए । डेढ घण्टासम्म विप्लवले कर्मनाशा खोला सरसफाई कार्यक्रममा सहभागी हुँदा जिल्लाका सुरक्षाकर्मीले भने चाल नै पाएनन् ।

कर्मनाशा खोला काठमाडौंको दक्षिणतर्फ रहेको ललितपुरबाट उत्तरतिर नरेफाँट कोटेश्वरस्थित मनोहरा नदीमा आएर मिसिन्छ । दक्षिणबाट उत्तरतिर बग्ने यो नै उपत्यकाको एकमात्र खोला हो ।


प्रतिक्रिया दिनुहोस !
विचार