Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

काठमाडौं कांग्रेसको नगर अधिवेशन आज, महानगरमा शाक्य र रञ्जित भिड्दै


नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन आज हुँदैछ। देशकै राजधानी रहेको काठमाडौं महानगरको नगर अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ। काठमाडौं महानगरमा तरुण दलका केन्द्रीय सदस्यसमेत रहिसकेका निलकाजी शाक्यले उम्मेद्वारी घोषणा गरेका छन्। काठमाडौं महानगर वडा २५ का वडाध्यक्षसमेत रहेका शाक्य नेता प्रकाशमान सिंह निकट हुन्।

प्रगतिमान रञ्जितले पनि काठमाडौं महानगरको सभापतिमा दाबेदारी पेश गरेका छन्। रञ्जित प्रकाशमान निकट भएपनि पछिल्लो पटक भीमसेनदास प्रधानसँग नजिकिएका छन्। २०४४ सालबाट नेविसंघमार्फत कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनी नेपाल तरूण दल काठमाडौं महानगर समितिको संस्थापक सभापति हुन्।

काठमाडौंको कांग्रेस राजनीतिमा प्रकाशमान र भीमसेनदास पक्षको टक्कर पर्दै आएको छ। यसपटक भने प्रकाशमानलाई गगन थापा पक्षको पनि साथ रहेको छ। भीमसेनदास पक्षलाई देउवाले सघाउने देखिएको छ। यसपटकको अधिवेशनमा काठमाडौंका अन्य नगरसहित काठमाडौं महानगरमा दुई पक्षबीच टक्कर पर्ने देखिएको छ।

शंखरापुर नगरपालिकामा दिलीपकुमार श्रेष्ठ, टोखा नगरपालिकामा दीपक जोशी, बूढानीलकण्ठ नगरपालिकामा राजाराम बुढाथोकी, गोकर्णेश्वरमा कुमार लामा, कागेश्वरी मनोहरामा मिठाराम दाहाल, तारकेश्वर नगरपालिकामा श्रीराम थापा, चन्द्रागिरि नगरपालिकामा घनश्याम गिरी, नागार्जुन नगरपालिकामा दुर्गा गौतम उम्मेदवार छन्।

कागेश्वरी मनोहरा नगरपालिकाको सभापतिमा देउवा पक्षबाट उद्धव दाहाललाई उम्मेद्वार बनाउने तय भएको छ। कीर्तिपुर नगरपालिकामा सहमतिमा नेतृत्व छान्ने प्रयास भइरहेको छ। काठमाडौँको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ। दक्षिणकाली–२ कोे क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा आज निर्वाचन सम्पन्न गर्न नसकिने भएको हो। ११ वटै स्थानीय तहमा नगर अधिवेशनको तयारी पूरा भएको काठमाडौं कांग्रेसका जिल्ला सभापति सबुज बानियाँले बताए।


प्रतिक्रिया दिनुहोस !
विचार