नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई धेरै आग्रह गरेपछि मात्रै प्रधानमन्त्री बन्न तयार भएको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देउवालाई मनाउँन धेरै दुःख गर्नुपरेको बताए । जति आग्रह गर्दा पनि देउवाले प्रधानमन्त्री बन्न चासो नै देखाएका थिएनन्, प्रचण्डले भने, ‘ तपाईँ प्रधानमन्त्री बनिदिनूस् भनेर धेरैपटक बुढानिलकण्ठ धाएपछि बल्ल उनी प्रधानमन्त्रीका लागि तयार भएका हुन् ।’
केपी ओलीले संविधान र लोकतन्त्र ध्वस्त पार्न लागेपछि आफूहरुले पार्टीभित्रैबाट विद्रोह शुरु गरेको उनको भनाइ थियो । एमालेको प्रतिवाद नगरिकन आगामी निर्वाचनमा विजय हासिल गर्न नसिकने बताउँदै उनले एमाले गणतन्त्र र संघीयता विरोधी दल हो भनेर जनतलाई बुझाउन आवश्यक भएको बताए ।





