Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

एमाले विधान महाधिवेशनको आज अन्तिम दिन: अध्यक्ष, महासचिव र उपमहासचिवले जवाफ दिने


नेकपा एमालेको विधान महाधिवेशन आजसमापन हुँदैछ। ६ हजारभन्दा बढी प्रतिनिधिका बीच शुक्रबार सुरु भएको महाधिवेशनको आजको पूर्ण सत्र बिहान ८ बजेदेखि नै सुरु हुने बताइएको छ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसमाथि छलफलमा उठेका प्रश्नको आज जवाफ लिने कार्यतालिका रहेको छ ।

१० मध्ये ५ समूहले शनिबार नै आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन्। शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले आफ्नो समूहमा भएको छलफलको रिपोर्ट प्रस्तुत गरेका हुन्।

शनिबारै दिउँसो २ बजेपछि सुरु भएको पूर्ण सत्रमा अनुशासन आयोगका तर्फबाट अमृत बोहरा, लेखापरीक्षण आयोगका तर्फबाट पुष्प कँडेल र सल्लाहकार परिषद्को तर्फबाट केशव बडालले प्रतिवेदन पेस गरेका थिए। ती तीन वटै प्रतिवेदन शुक्रबार नै प्रस्तुत गर्ने कार्यसूची रहेको भए पनि समय अभावका कारण शनिबार मात्रै प्रस्तुत गरिएका हुन्।

आज प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूह र जनसंगठनहरुको समूहको तर्फबाट रिपोर्ट प्रस्तुत हुनेछ। १ बजेपछि दस्तावेज प्रस्तुतकर्ता ओली, पोखरेल र पौडेलले जवाफ दिनेछन्।


प्रतिक्रिया दिनुहोस !
विचार