काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् ।
बालकोटस्थित ओली निवासमा पुगेका बालेनलाई ओलीले तबला उपहार दिएका हुन् ।
एमाले नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले सामाजिक सञ्जालमा ओलीले तबला उपहार दिएको तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्धारा काठमाडौंका मेयर बालेन साहलाई तबला उपहार । आज बालकोटमा अकस्मात जम्काभेट ।’
गुरुपुर्णिमाका दिन बालेन बालकोटमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले काठमाडौंका मेयर बालेन साहले ओलीलाई राजनीतिक गुरु मानेका रहेछन् भनी टिप्पणी गरेका छन् । यद्यपि बालेन साहले आफ्नो राजनीतिक गुरुका रुपमा ललितपुरका नरसिंह व्यञ्जनकारलाई मान्दै आएका छन् ।




