Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

श्रीकृष्ण श्रेष्ठ को हुन् ? जसले गोकुल बास्कोटाको क्षेत्रमा उम्मेदवारी दिँदैछन्


प्रतिनिधिसभाको आउँदो निर्वाचनमा काभ्रे क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेपछि काभ्रेका २७ वर्षिय युवा श्रीकृष्ण श्रेष्ठ यतिबेला चर्चामा छन् । एमालेका गोकुल वास्कोटाले चुनाव जितेको क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेपछि उनको चर्चा एकाएक चुलिएको छ ।

त्यसो त यो क्षेत्र सांसद हुँदै राज्यमन्त्रीसम्म बनेका कांग्रेसका कञ्चनचन्द्र बादेको पनि क्षेत्र हो । राष्ट्रिय राजनीतिमा नै आफूलाई स्थापित गरिसकेका नेताहरुको क्षेत्रमा २७ वर्षिय युवाले आँट गरेपछि उनीतिर धेरैको ध्यान तानिएको छ ।

असारको शुरुमा बनेपामा एक विशेष कार्यक्रम गरेर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका थिए । राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको एजेण्डा बोकेर चुनावी यात्रामा निस्किएका श्रेष्ठ त्यसयता जनताको घरदैलोमा छन् ।

को हुन् श्रीकृष्ण श्रेष्ठ ?

२७ वर्षिय श्रीकृष्णको जन्म गाउँ काभ्रेको रोशी हो । तर, २०६८ बाट बुवा आमा र परिवारका अन्य सदस्य सहित उनी बनेपामा बस्न थाले । स्थानीय स्कुल र कलेजमा अध्ययन गरेपछि रोजगारीका सिलसिलामा उनी २०७२ सालमा मलेसिया हानिए । तर, मलेसिया गएको ५ महिनामै उनी नेपाल फर्किए । मलेसियामा गरिने दुःख आफ्नै ठाउँमा गर्ने र यहाँको बेथितीका विरुद्ध लड्ने सोचले उनलाई नेपाल ल्यायो ।

मलेसियाबाट नेपाल फर्किएपछि उनी ड्राइभिङ पेसामा लागे । ड्राइभिङ गर्दागर्दै समाजमा देखेका विकृति, विसंगती र मनपरीले आफूलाई सामाजिक अभियानहरुतर्फ आकर्षित गरेको उनको भनाई छ । उनी भन्छन्, ‘राष्ट्रिय राजनीतिमा नै स्थापित भइसकेका व्यक्तिहरु मेरो जिल्लामा छन् तर, मेरो जिल्ला चाहिँ जस्तो थियो त्यस्तै छ । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा सामान्य जनताको पहुँच पुग्न सकेको छैन । ’

अहिलेको अवस्थाको दोष राजनीतिक व्यवस्था नै रहेको उनको ठम्याई छ । त्यही ठम्याइका साथ उनी राजसंस्था र सनातन हिन्दू राष्ट्र पुनःस्थापनाको अभियान सञ्चालन गर्दै आएको नेपाल नागरिक अभियानमा जोडिए । हाल उनी नेपाल नागरिक अभियानका केन्द्रीय युवा संयोजक हुन् । सशष्त्र प्रहरीका पूर्व एआइजी डा.ठाकुरमोहन श्रेष्ठ नेतृत्वको नेपाल नागरिक अभियान लामो समययता राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको अभियानमा छ ।

श्रीकृष्ण श्रेष्ठको पारिवारिक पृष्ठभूमी राजनीति होइन । तर, अहिले आफ्नो नशा नशामा राजनीतिक सोच बगेको उनी बताउँछन् । केही समय अघि सम्म उनी गीत संगीतको क्षेत्रमा पनि थिए । तर, सामाजिक अभियानहरुमा आबद्ध भएपछि भने सांगितिक क्षेत्रबाट केही टाढा भएको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार