बेदकोट नगरपालिका–९ की सुत्केरी महिलाको मृत्यु भएको छ। बच्चा जन्माए पनि साल अड्किएपछि शनिबार २४ वर्षे भागरथी साउद धामीको मृत्यु भएको हो। बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्यु भएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए।
‘बिहान १ बजे उनको मृत्यु भएको हो’‚ उनले भने, ‘अक्सिजनको मात्रा धेरै कम थियो, हामीले उनलाई बचाउन सकेनौं।’ धामीले छोरी जन्माएकी थिइन्। बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डा। श्रेष्ठले बताए। ‘बच्चाको अवस्था ठिक छ’‚ उनले भने, ‘धामीलाई बचाउने प्रयास गरे पनि सम्भव भएन।’ मृतकका आफन्तले बच्चाको हेरचाह र घटनाको छानबिन गर्न माग गरेका छन्।
महाकाली अस्पतालको लापरबाहीले मृत्यु भएको धामीका श्रीमान् जितेन्द्र धामीले बताए। ‘डाक्टरहरूले समयमै रेखदेख गरेनन्’‚ उनले भने, ‘१ बजेतिर अप्रेशन गर्नुपर्छ भन्यो, हामीलाई भेट्न समेत दिएन।’ डाक्टरहरूले २ बजे मृत्य भएको जानकारी दिएको उनी बताउँछन्।
‘डाक्टरहरूले साल अड्किएर मृत्यु भयो भने’‚ उनले भने, ‘डाक्टरहरूले लापरबाही गरेका छन्, छानबिन गरी कारबाही गर्नुपर्छ।’ अहिले महाकाली अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ।





