Logo
६ भाद्र २०८३, शनिबार
|  Sun Aug 23 2026

रवि लामिछानेविरुद्ध चुनाव लड्ने पत्रकार खेम भण्डारीको घोषणा


पत्रकार खेम भण्डारीले आउँदो चुनावमा पूर्व पत्रकार रवि लामिछानेले उम्मेदवारी दिने क्षेत्रबाटै आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् । कञ्चनपुरलाई कर्मथलो बनाउँदै आएका पत्रकार भण्डारीले रवि लामिछाने चुनाव हराउँनैपर्ने पात्र भएका कारण आफूले लामिछानेविरुद्ध चुनाव लड्न लागेको बताए ।

निर्मला हत्या प्रकरणका दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई फसाउनेगरी रवि लामिछानेले तत्कालिन अवस्थामा न्युज २४ टीभिको दुरुपयोग गरेको आरोप लगाउँदै पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै भण्डारीले भनेका छन्, अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो, नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडेपनि मेरो उम्मेदवारी रहन्छ ।

उनले रवि लामिछानेलाई नाबालिक एक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरुलाई बचाउने व्यक्ति भनी कडा आरोप लगाएका छन् । रवि लामिछानेविरुद्ध चुनाव लड्ने उदघोष गरेका भण्डारीले चुनावी एजेण्डाका रुपमा आफ्ना विभिन्न १० मुद्धा सार्वजनिक समेत गरेका छन् । प्रायः ती सबै एजेण्डा निर्मला हत्याप्रकरणमा केन्द्रित छन् । भिभिआइपीहरुलाई उन्मुक्ति दिलाउँनेगरी रविले टेलिभिजनमार्फत त्यतिबेला भूमिका खेलेको उनको संगिन आरोप छ ।

त्यसो त पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत रहेका खेम भण्डारी र रवि लामिछानेका बीचमा ३ वर्षअघि नै सम्बन्ध चिसिएको थियो । तत्कालिन अबस्थामा दुवै पत्रकार एक अर्कामाथि खनिएका थिए ।

पत्रकार भण्डारीले निर्मला हत्या प्रकरणमा तत्कालिन अवस्थामा अदालतको समेत मानहानी हुनेगरी लेख तथा भ्रामक समाचार प्रकाशित गरेको भन्दै कञ्चनपुर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा समेत दायर भएको थियो । उक्त मुद्दाको फैसला गर्दै जिल्ला अदालत कञ्चनपुरले १ रुपैंयाँ जरिवाना र एक घण्टा कैदको सजाय सुनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार