Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

आज बडादशैंको चौथो दिन, कुष्माण्डा भगवतीको विशेष पूजा गरिँदै


बडादशैँअन्तर्गत आज नवरात्रको चौंथो दिन, कुष्माण्डा भगवतीको विशेष पूजा गरिँदैछ। आज पनि बिहानैदेखि विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो लागेको छ। भगवती दुर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ति भएको धार्मिक विश्वास रहेको धर्मशास्त्रविदको भनाइ छ।

कुष्माण्डा भगवतीको पूजाले आयु, यश, बल, आरोग्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । बिहीबार आश्विन शुक्ल प्रतिपदाका दिन बिहान घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व बडा दशैं सुरु भएको हो। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ। पूजा कोठा वा दशैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ।

पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौंं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताउँछन् प्राडा देवमणि भट्टराई। दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड समेत लाग्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार