
सरकारले आगामी ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । सोहीअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।
यसैबीच मंसिर ४ मा निर्वाचनको मिति प्रधानमन्त्री शेरबहादुर देउवाको ज्योतिषीको सल्लाह अनुसार तोकिएको बुझिएको छ । बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मितिका विषयमा आफ्ना ज्योतिषीसँग पटक पटक सल्लाह लिँदै आएका थिए । देउवालाई उनका ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको भन्दै गरेको भविष्यवाणी अहिले पनि राजनीतिक वृत्तमा चर्चामा छ ।