नेपाल नागरिक अभियानले राष्ट्रवादी शक्तिहरुलाई गोलबद्ध हुन आग्रह गरेको छ । संसदको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा अभियानले एक विज्ञप्ती जारी गर्दै राष्ट्रवादी शक्तिहरुलाई गोलबद्ध हुन आग्रह गरेको हो ।
मंसिर ४ को निर्वाचनका सन्दर्भमा केन्द्रीत रहेर अभियानका तर्फबाट राष्ट्रिय अध्यक्ष डा.ठाकुरमोहन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा केही प्रश्नहरु समेत गरिएको छ । विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ :
नेपाल नागरिक अभियानको आग्रहः
अहिले मुलुक गणतान्त्रिक परिपाटी स्थापना पश्चात तेस्रो पटकको संघीय प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन यही २०७९ साल मंसिर ४ गते एकै चरणमा गर्ने घोषणा भएकाले मुलुक गणतान्त्रिक धारका राजनैतिक दलहरु, राजावादी, राष्ट्रवादी, हिन्दुवादी र देशभक्त दलहरुकाबीच अपेक्षित परिणाम र राजनैतिक वैधता प्राप्तिकालागि तिव्र प्रतिष्पर्धा वा वहिष्कारका अवस्था देखिने नै छ । यी नै सन्दर्भमा नेपाल नागरिक अभियानको ध्यानाकृष्ट भएकोले सरोकार पक्षहरूमा केही प्रश्न सहित आग्रह गरिएको छ ।
यसक्रममा गणतान्त्रिक धारका दल, समूहका व्यक्तिहरुले विगतमा झै वैदेशिक प्रभाव, दवाव र सहयोगमा अपेक्षित परिणाम प्राप्त गरी मुलुकको सार्वभौमसत्ताको दोहनमार्फत आ–आफ्ना वैदेशिक मालिकहरुको सेवामा समर्पित रहने प्रकृयालाई जारी राख्ने सम्भावना प्रवल देखिएको छ ।
राष्ट्रवादी, राजावादी, हिन्दुवादी र देशभक्त दल र समूह तर्फ खुद्रे पसल संचालन प्रकृयालाई जारी राखेर विशुध्द रुपले राष्ट्रिय हितमा स्वचालित समूह चाहिँ लुप्त हुदै जाने तर परिचालित समूहले पनि अपेक्षित परिणाम प्राप्त नगरी फाट्ट फुट्ट प्राप्त भत्ता पचाउनका लागि मात्रै होहल्ला गर्दै जाने हो भने राष्ट्रवादको मुद्दालाई कहिलेसम्म जिवित राख्न सकिएला ? भन्ने मूल प्रश्न खडा भएको छ ।
किनभने हाल मुलुकमा व्याप्त वैदेशिक प्रभाव, दवाव र सहयोगले परिपूर्ण गणतान्त्रिक परिपाटीलाइ राष्ट्रबादी समूहहरूले स–साना समूह र झुण्ड मार्फत एक्ला एक्लै प्रतिष्पर्धा गर्न सक्ने अवस्था छैन । अतः एउटै छातामुनी गोलवद्ध एकीकृत नागरिक आन्दोलन संचालन गर्न गराउन नसक्ने हो भने राष्ट्रवादको मुद्दालाई दीर्घकालसम्मका लागि जिउंँदो राखी संघर्षको वातावरण वनाएर अपेक्षित परिणाम प्राप्तिको लागि सडक र सदनको रणनीति अवलम्व सहित अग्रसर हुनु असरदार हुने नेपाल नागरिक अभियानको ठहर छ । राष्ट्र वचाउने र वनाउने उत्तम उद्देश्यका लागि अझै समय पर्याप्त छ । आपसी एकता, सदभाव र विश्वास नै शक्ति हुन, जुटौ ।
तसर्थ, स्वचालीत र परिचालितको पहिचान गरी स्वचालित दल, संस्था र व्यक्तिहरुलाई केन्द्रमा राखी तिनिहरुको संरक्षण गर्दै अल्पकाल र दीर्घकालको उपयोगको नीति र रणनीति अवलम्वन गर्न ढिला भएन र ? मुलुकका हकहितमा उपयोगको लागि अग्रसरता को कसले लिने ? बेला भएन र ? यी सवै पक्षहरूमा केन्द्रीकृत ढंगले व्यवस्थित रूपमा रणनैतिक अग्रसरता लिन ढिला भइसकेको हो कि भन्ने लागेर सवैले गंम्भिर बहसबाट गोलबद्ध भई उद्देश्य प्राप्तिको निमित्त अग्रसर हुन सम्वन्धित सवैमा आग्रह गरेका छौ ।
नेपाल नागरिक अभियान ।
डा.ठाकुरमोहन श्रेष्ठ, राष्ट्रिय अध्यक्ष, नेपाल नागरिक अभियान