नेकपा एमालेका सांसद तथा पूर्व मन्त्री गोकुल बास्कोटाले लेखा समितिको सभापति एमालेले पाउनुपर्ने बताएका छन् ।
सिंहदरबारमा बसेको लेखा समिति बैठकमा बोल्दै बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् । चेक एण्ड ब्यालेन्सको लागि पनि सत्तापक्षले लेखा समितिको सभापति छाड्नुपर्ने उनको भनाइ छ । उनले संसारभर नै लेखा समिति प्रतिपक्षीले सम्हाले अभ्यास रहेको जिकिर गरे ।
बैठकमा समिति सभापति भरत शाहले सभापति पद छाड्ने कि नछाड्ने आफ्नो स्वेच्छाको कुरा भएको बताए । शाहले २०५६ सालदेखि नै आफू पनि लेखा समितिमा बस्दै आएको भन्दै २० वर्षको अवधिमा कसैले पनि राजीनामा गएर गएको आफूलाई थाहा नभएको तर्क गरे ।
बैठकमा महालेखापरीक्षकको ५८ औ वार्षिक प्रतिवेदन, २०७८ बारे छलफल भएको थियो । महालेखापरीक्षक टंकमणी शर्माले ५ हजार चार सय ६१ वटा निकायको लेखापरिक्षण सम्पन्न भएको जानकारी दिएका थिए





