बलराम प्यासी
ललितपुर, ३१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा मनाङ्ग जिल्लाबाट प्रतिनिधि सभाका सदस्य (संघीय सांसद) एवम् नेपाली काँग्रेसका नेता कर्म घलेलाई भेट्न मंगलबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धि पुगेका छन् ।
विरामी घलेको स्वास्थ्य अवस्था बुझ्न मंगलबार साँझ करीव साढें ६ बजे अस्पताल पुगेका प्रधानमन्त्री देउवा उनको उपचारको लागि सरकारले सहयोग गर्ने आश्वासन दिएर १५ मिनेटपछि अस्पतालबाट फर्केका थिए ।
६२ वर्षिय सांसद घले पिसावमा संक्रमण भएका कारण ४ दिनअघि उपचारको लागि सो अस्पतालमा भर्ना भएका थिए । पित्त थैलीको क्यान्सर अहिले शरीरको अन्य भागमा पनि फैलिसकेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
घलेको उपचारमा नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर एवम् वरिष्ठ मेडिकल अन्कोलोजिष्ट डा.विजेशराज घिमीरेको नेतृत्वमा सो अस्पतालका मेडिकल अन्कोलाजिष्ट डा.सम्राट खनाल र मेडिकल अफिसर डा.विन्जा बासुकलाको टोली संलग्न छ ।
भारतबाट करीव १० महिना लामो उपचारपछि नेपाल फर्केका सांसद घले पछिल्लो समय नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचाररत छन् । घलेको केमोथेरापि विधिबाट उपचार भईरहेकोमा पछिल्लो समय क्यान्सर उनको शरीरको अन्य भागमा फैलिसकेकोले घलेको स्वास्थ्य अवस्था सन्तोषजनक नभएको चिकित्सकले बताएका छन् ।
‘नेपालीको क्यान्सर उपचार नेपालमै’ भन्ने नारा सहित स्थापना भएको सो अस्पतालमा पछिल्लो समय भारत लगायत अमेरिका, थाइल्याण्ड लागयतका मुलुकबाट उपचार गराएर थाकेका क्यान्सरका विरामीहरु आउने क्रम बढेको अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठ बताउँछन् ।