काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । काठमाडौंमा फोहोर व्यवस्थापनमा बालेन साह चुकेको अभिव्यक्ति दिएर धरान फर्किएका मेयर साम्पाङले धरान पुगेपछि बालेनलाई लक्षित गर्दै लेखेको स्टाटसमा उनीहरुबीच दोहोरी चलेको हो ।
काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा काठमाडौं, धादिङ र नुवाकोटका सिडिओ र स्थानीय जनप्रतिनिधीबीच सहमति भएको खबर सार्वजनिक भए लगत्तै धरानका मेयर साम्पाङले फेसबुकमा ठट्टा सहितको स्टाटस लेखे । ‘जसले जे भनोस् म काठमाडौं नगएको भए फोहोर नउठ्ने रहेछ, कमसेकम काम त शुरु गरे । ’ बुधबार साँझ मेयर हर्कले यो स्टाटस लेखेको केही समयमै काठमाडौंका मेयर बालेन साहले स्टाटसमा व्यंग्यात्मक कमेन्ट गरिहाले । उनको कमेन्ट थियो, हो नि तपाइँको लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि ।
मेयर बालेन र हर्कको यो दोहोरीका बीचमा हर्कले अरु थप दुईवटा स्टाटस पोष्ट गरे । बालेनको कमेन्टपछि उनी लक्षित हर्कको पहिलो पोष्ट थियो, ‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’ ८ घन्टाको बीचमा करिब ५ हजार ८ सय कमेन्ट आएको यो पोष्टमा अधिकांशले हर्क साम्पाङकै आलोचना गरेका छन् । तर, यसमा बालेन साहको कमेन्ट देखिदैन । हर्कलार्ई प्याक लगाएर लेखेको त होइन भनेर सोध्नेहरु धेरै छन् । यो पोष्ट गरेको केही मिनेटमै फेरी हर्क साम्पाङले अर्को पोष्ट गर्दैै लेखेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखुरा बजाउ नालायक हो, नामले खाएकाहरु हो ……। तिमेरुको रिस उठोस् बेस्सरी । काम गर काम हावा तालका हो । ’
हर्क साम्पाङको यो पोष्टमा ८ घन्टाको बीचमा करिब ९ हजार कमेन्ट आएका छन् । काठमाडौंका मेयर बालेन साहले हर्क साम्पाङको पहिलो पोस्टमा व्यंग्यात्मक कमेन्ट गरेपनि यो पोष्टमा गरिएका ९ हजार कमेन्टमा उनको कमेन्ट देखिएको छैन ।
केहीदिनअघि काठमाडौं आएका धरानका मेयर हर्क साम्पाङले विभिन्न अन्तर्वार्ता र भेटघाटका क्रममा काठमाडौंको फोहोर व्यवस्थान गर्न नसकेको भन्दै मेयर बालेन साहको आलोचना गरेका थिए । काठमाडौंमा विभिन्न नेता र व्यक्तिहरुसँग भेटघाट गरेपनि उनले मेयर बालेन साहसँग भेटेका थिएनन् । काठमाडौं आएका बेला बालेन र उनीबीच भेटघाटको अपेक्षा गरिएपनि के कारणले उनीहरुबीच भेटघाट नभएको हो भन्नेबारेमा खुलेको छैन । तर, काठमाडौंबाट फर्किए लगत्तै मेयर बालेनप्रति उनले खोलेको फायर र बालेनको जवाफी फायरले भने दुई मेयरका बीचको सम्बन्धमा चिसोपना रहेको सहजै आंकलन गर्न सकिन्छ ।







