काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोजेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ। चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी अनाधिकृत रूपमा भाडा उठाउने सात जनालाई सोमबार बिहान पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क(३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका बिशाल लामालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकारूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ।
महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको भट्टराईले बताए।





