कञ्चनपुरका एक वडाध्यक्षले आफूले पाएको भत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिकलाई वितरण गरेका छन्। भीमदत्त नगरपालिका– १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले आफ्नो भत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिकलाई वितरण गरेका छन्।
गत आर्थिक वर्षमा कोरोनाका कारण वितरण गर्न नसकेको रकम पनि उनले यस वर्ष दसैँको मुखमा वितरण गरेका छन्। सोमबार वडा कार्यालयमा ज्येष्ठ नागरिक, अपांगता भएका र असहाय नागरिकलाई १५ सयका दरले रकम वितण गरेका हुन्। वडाध्यक्ष कुँवरले चुनावका वेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए। सोहीअनुरूप आफूले पाएको भत्ताबापतको रकम वितरण गर्दै आएको उनले बताए। ‘मैले राज्यबाट पाउने सबै भत्ता वितरण गर्दै आएको छु,’ उनले भने, ‘दसैँको वेला केही राहतका लागि वितरण गरेको छु।’
वडाध्यक्ष कुँवरले वडामा आउन नसकेका र सरकारबाट सामाजिक सुरक्षा भत्ता नपाउने ज्येष्ठ एवं विपन्न नागरिकलाई समेत वितरण गरेका छन्। दसैँको मुखमा भत्ता पाएका ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक हर्षित भएका छन्।
भत्ता पाएकी ८४ वर्षीया पूर्णकला भण्डारीले असल जनप्रतिनिधिले विपन्न नागरिकप्रति दया देखाएको बताइन्।








