काठमाण्डौं, १९ भदौ । मिनभवनस्थित निजामति कर्मचारी (सिभिल) अस्पतालमा प्लास्टिक सर्जरी तथा मिर्गाैला उपचार सम्वन्धि नेफ्रोलोजी सेवा शुरु भएको अस्पतालले जनाएको छ ।
वीर अस्पतालको (आगलागिमा परि घाइतेहरुको उपचार गर्ने) बर्न युनिटमा काम गरेका अनुभवि प्लास्टिक सर्जन डा.मनिष देवकोटालाई यसै महिनादेखि सो अस्पतालमा आवद्ध गराएपछि सिभिल अस्पतालले सो सेवा शुरु गरेको अस्पतालको प्रशासकिय अधिकृत रञ्जना नेपालले बताइन् ।
प्लास्टिक सर्जन डा.देवकोटाका अनुसार सो अस्पतालमा अब कस्मेटिक सर्जरी, रिकन्स्ट्रक्सन सर्जरी, ह्याण्ड एण्ड माइक्रो सर्जरीको साथै आगोले पोलेको ठाउँमा गरिने प्लास्टिक सर्जरी गरि सबैप्रकारको प्लास्टिक सर्जरी सेवा दिइनेछ ।
यसैगरि सो अस्पतालले यसै महिनादेखि मिर्गाैला र मिर्गाैला रोगसंग सम्वन्धित सबै किसीमको उपचार पनि शुरु गरेको जनाएको छ ।
वीर अस्पतालबाट सेवा निवृत्त भएकी वरिष्ठ मिर्गाैलारोग विशेषज्ञ डा.रजनी हाडालाई अस्पतालमा आवद्ध गराएपछि मिर्गाैला र मिर्गाैला रोगसंग सम्वन्धित सवै किसीमको रोगको उपचार शुरु गरेको अस्पतालले जनाएको छ ।
मिर्गाैलाका रोगीहरुको उपचारको लागि भनेर अस्पतालमा ४ वटा डायलोसिस मेशिन ल्याएर जडानको प्रकृयामा रहेको अस्पतालको प्रशासकिय अधिकृत नेपालले बताइन् ।