मुगु बस दुर्घटनामा परी मुत्यु हुँनेको संख्या २८ पुगेको छ । २४ जनाको घटना स्थलमै मृत्यु भएको र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । केहीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताए। उनका अनुसार मृत्यु हुनेमा बसका चालक दलबहादुर रावल, सन्तोष बितालु, नविन बुढालगायत छन्। मृत्यु हुनेमा आठ–दश वर्षको एक बालक छन् भने अधिकांश विद्यार्थी रहेको उनले जानकारी दिए।
‘मृत्यु हुने अधिकांश काठमाडौं, नेपालगञ्ज र सुर्खेतमा अध्ययनरत विदार्थी छन्’ साहानीले भने, ‘दशैँ मनाउँन घर आउने क्रममा अधिकांश विद्यार्थीले ज्यान गुमाएका छन्।’ उकालो मोडमा बसको अगाडिको टायर पञ्चर भएर बस दुर्घटना भएको उनले बताए। ‘ज्यान गुमाउने सबै स्थानीय छन्, आफन्तहरू जम्मा भएर सनाखत गर्ने काम भइरहेको छ’ साहानीले भने, ‘आफन्तहरूको भीडले गर्दा सनाखत गर्नै मुस्किल छ।’
साहानीका अनुसार बस करिब पाँच सय मिटर तल खोलामा खसेको छ। बस टुक्राटुक्रा भएको छ। प्रहरी निरीक्षक जीवन लामिछाने घाइते १४ जनालाई समिट एअरको जहाजमा र नेपाली सेनाको हेलिकप्टरमा राखेर ताल्चा विमानस्थलबाट नेपालगञ्ज पठाइएको जानकारी दिए।





