विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रसँगै सो पार्टीका मिश्र पक्षधर नेताहरु आज राप्रपामा प्रवेश गर्दैछन् । राप्रपा प्रवेशको कार्यक्रम दिउँसो १ बजेका लागि राखिएको छ । राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु राप्रपा प्रवेश गर्न लागेका हुन् ।
मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्दैछन् भने अन्य नेताहरुको पद टुंगिएको छैन । यसअघि विवेकशील साझामा प्रदेश संयोजक तथा केन्द्रीय सदस्य रहिसकेका धेरै नेताहरु राप्रपा प्रवेश गर्ने तयारीमा छन् । उनीहरुलाई केन्द्रीय सदस्यका रुपमा मनोनित गरिने बुझिएको छ ।
यसरी राप्रपा प्रवेश गर्नेहरुमा यसअघि मधेश प्रदेशका संयोजक रहिसकेका धनपति महतो, बागमती प्रदेशका उज्ज्वलकृष्ण श्रेष्ठ, गण्डकी प्रदेशकी सुशीला केसी अधिकारी, लुम्बिनी प्रदेशका अनुपमान सैंजु, कर्णाली प्रदेशका कर्णबहादुर शाही, सुदूरपश्चिम प्रदेशका दिनेश भण्डारी, पूर्व प्रवक्ता सरदराज पाठक, नेताहरु अर्जुन खनाल, लक्ष्मी घिमिरे, हरिकृष्ण अधिकारी, सौरेन्द्र बहादुर शाह, हरि गौतम, अमृत पुडासैनी लगायतका छन् ।
विवेकशील नेपाली दलका संस्थापक सन्तोष प्रधान चौधरी पनि आज राप्रपा प्रवेश गर्ने सूचीमा छन् । विवेकशील साझाका जिल्ला तहका दर्जनौं नेताहरु पनि आजै राप्रपा प्रवेश गर्दैछन् । आज राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुविकरण पक्षधर बीचको एकता घोषणा कार्यक्रम नाम दिइएको छ ।