सशष्त्र प्रहरीका पूर्व एआर्ईजी डा.ठाकुरमोहन श्रेष्ठ र पूर्व पत्रकार रवीन्द्र मिश्र कुनैबेला स्कुले साथी थिए । स्थायी घर काठमाडौं भएका रवीन्द्र काकाको जागिर डोटीमा भएपछि डोटी बसेर पढ्नुपर्ने अवस्थामा थिए भने डा.ठाकुरमोहन डोटीकै स्थायी बासिन्दा थिए ।
उतिबेला डोटीे सदरमुकाममा रहेको पद्म पब्लिक माध्यमिक विद्यालयमा कक्षा ६ र ७ मा एउटै बेञ्च ( मान्द्रो ) मा बसेर पढेका दुई साथीको भेट जीवनयात्राका विभिन्न घुम्तीमा भयो । स्कुले पढाइ सकिएपछि उनीहरुको भेट काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा भयो । कलेज जीवनको शुरुवाती कक्षा दुबैले रत्नराज्य लक्ष्मीमा लिए । रवीन्द्र पत्रकारिता पढाइका लागि पाकिस्तान हानिए भने डा.ठाकुरमोहन उच्च शिक्षा अध्ययनसँगै प्रहरी सेवामा प्रवेश गरे ।
बीबीसी नेपाली सेवामा लामो समय काम गरेर लाखौं प्रशंसक बटुलेका रवीन्द्र पत्रकारिता गर्दागर्दै त्यो चटक्कै छाडेर राजनीतिमा होमिए भने डा.ठाकुरमोहन पनि प्रहरी सेवापछि राजनीतिक यात्राको उद्देश्य सहित सडक अभियानमा होमिए । रवीन्द्रले आफ्नै नेतृत्वमा साझा पार्टी दर्ता गरेर साझा हुँदै विवेकशील साझाको नेतृत्व गरे भने डा.ठाकुरमोहनले आफ्नै नेतृत्वमा नेपाल नागरिक अभियान स्थापना गरे । दुई स्कुले साथी राजनीतिक यात्रामा फरक फरक पार्टी र संस्थाबाट अघि बढे । डा.ठाकुरमोहन शुरुदेखि नै राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा खुलेर सडक संघर्षमा लागे भने रवीन्द्रलाई विवकेशील साझामा रहेर राजसंस्थाका पक्षमा लाग्ने अवस्था रहेन । अन्ततः उनले विचार भन्दा माथि देश भन्दै मार्ग परिवर्तन गर्दै राप्रपामा प्रवेश गरे ।
डा.ठाकुरमोहन आफ्नै नेतृत्वमा वैज्ञानिक राष्ट्रवादको अवधारणा सहित नेपाल नागरिक पार्टी दर्ता गर्ने तयारीमा थिए । तर, उही राजनीतिक उद्देश्य बोेकेको अलग पार्टी दर्ता गर्नुभन्दा राप्रपा प्रवेशलाई उनले उपयुक्त सम्झिए । डा.ठाकुरमोहन राप्रपामा अहिले कार्य सम्पादन समितिको सदस्य बनेका छन् भने रवीन्द्र राप्रपाको वरिष्ठ उपाध्यक्ष । स्कुल र कलेज यात्रामा संयोगले सँगै भएका यी दुई साथी राजनीतिक यात्रामा पनि अब सँगै छन् । अब यी दुईको राप्रपा यात्रा कस्तो रहला ? त्यो भने भोलिका दिनले नै बताउला ।