नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन्।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा- २ बाट निर्वाचन लड्ने निर्णय गरेको एक पदाधिकारीले सेतोपाटीलाई बताए।
उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए। अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्।
काठमाडौं- १० बाट दोहोर्याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं- १० बाट हारेका थिए भने सिरहा- ५ बाट झिनो अन्तरले जितेका थिए।
२०७४ मा चितवन- ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्।
आफूलाई भेट्न आएका चितवनका कांग्रेस र माओवादी नेता-कार्यकर्तासँग कुरा गर्दै प्रचण्डले आफूले जस्तो निर्णय पनि लिन सक्ने जवाफ दिएका थिए।
चितवनदेखि आफूलाई भेट्न आएका गठबन्धनका नेता-कार्यकर्तालाई प्रचण्डले प्रत्येक निर्वाचनमा फरकफरक क्षेत्रबाट लडेकाले यसपटक अन्त जान पनि सक्ने भनेका थिए।
‘हरेकपटक निर्वाचन क्षेत्र फेर्न सक्ने भएर नै प्रचण्ड भएको हो,’ उनको भनाइ उद्धृत गर्दै एक माओवादी नेताले भनेका थिए।





