काठमाडौं क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र पाठकले खर्पन बोकेको मान्छे चुनाव चिन्ह पाएका छन् ।
बुधबार निर्वाचन आयोगले पाठकलाई चुनाव चिन्हका रुपमा खर्पन बोकेको मान्छे दिएको हो । पाठक काठमाडौं क्षेत्र नं ९ का जुझारु तथा अध्ययनशील नेताका रुपमा चिनिन्छन् । लामो समय अध्यापन, वकालत तथा पत्रकारिता समेत गरेका पीएचडी स्कलर पाठकलाई उम्मेदवारीका लागि विभिन्न दलले प्रस्ताव समेत गरेका थिए । तर, दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिएरै सांसद बन्ने अडानमा रहेका पाठकले ती प्रस्तावहरु अस्वीकार गरेको दाबी गरेका छन् ।
आजको प्रेस डटकमसँगको भिडियो अन्तर्वार्ताका क्रममा पाठकले दलको बँधुवा सांसद बन्न अन्तरआत्माले नदिएका कारण स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
पाठकले काठमाडौैं ९ मा यसअघिका निर्वाचित सांसदहरुले जनतालाई झुक्याउने काम मात्रै गरेको भन्दै यस क्षेत्रको आर्थिक समृद्धिका लागि विशेष काम गर्ने बताएका छन् ।
खर्पन बोकेको मान्छे चुनाव चिन्ह पाएपछि पाठकले भ्रष्टाचार र बेथितीमा रमेकाहरुलाई तह लगाउँनका लागि पनि आफूलाई मत दिन सबैसँग आग्रह गरे । सांसद बनेपछि तलब, भत्ता तथा कुनै प्रकारको सरकारी सुविधा नलिने उनको प्रतिबद्धता छ ।





