Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

पशुपतिनाथको आशिर्वाद लिएर काठमाडौं ४ का राप्रपा उम्मेदवारहरु घरदैलोमा


काठमाडौं क्षेत्र नं ४ का राप्रपा उम्मेदवारहरुले शनिबार पशुपतिनाथको आशिर्वाद लिएर घरदैलो शुरु गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. ठाकुरमोहन श्रेष्ठ, प्रदेशसभा ४ क का उम्मेदवार रिद्धिप्रताप जबरा र ख का उम्मेदवार पुण्यलाल श्रेष्ठले शनिबार बिहानै पशुपतिनाथको दर्शन गरेर घरदैलो अभियान शुरु गरेका हुन् । काठमाडौं क्षेत्र नं ४ मा पशुपतिनाथ, बुढानिलकण्ठ जस्ता मन्दिरहरु अवस्थित हुनु यस क्षेत्रका लागि अहोभाग्य रहेको भन्दै उनीहरुले पशुपतिनाथको आशिर्वाद लिएर घरदैलो शुरु गर्न पाउँदा आफूहरुलाई असाध्यै खुसी लागेको बताए ।

विश्वभरका ओमकार परिवारको आवाज बुलन्द गर्न आफूहरु चुनावी मैदानमा रहेको भन्दै उनीहरुले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि राप्रपालाई दुई तिहाई मत दिन जनतासँग आग्रह समेत गरे ।

पशुपतिनाथको दर्शनपछि बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठले नेपाली धर्म, संस्कृति, रितिरिवाज र परम्परा मेट्न लागिपरेकाहरुलाई जनताले मतमार्फत जवाफ दिनुपर्नेमा जोड दिए । अहिलेको निर्वाचन नेपालको अस्तित्व जोगाउँने र समाप्त पार्न चाहनेबीचको निर्वाचन भएको भन्दै उनले यो लडाइँमा जनताले राप्रपालाई साथ दिनेमा आफूहरु विश्वस्त रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार