काठमाडौं क्षेत्र नं ४ मा राप्रपाले शुरु गरेको घरदैलो अभियानमा नै पार्टी प्रवेशको क्रम शुरु भएको छ । गत शनिबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेर घरदैलो अभियान शुरु गरेका राप्रपाका उम्मेदवारहरु मतदाताको घरमा पुग्दा केही पार्टीका कार्यकर्ताहरु पार्टी प्रवेश नै गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठको हातबाट टिका लगाएर विभिन्न पार्टीमा आबद्ध कार्यकर्ताहरु पार्टी प्रवेश गरेको राप्रपाले जनाएको छ । उम्मेदवार डा. श्रेष्ठको हातबाट खादा लगाएर पार्टी प्रवेश गर्नेहरुमा जलबहादुर श्रेष्ठ, संजित श्रेष्ठ, रामकाजी श्रेष्ठ, तेजलाल श्रेष्ठ, राज श्रेष्ठ लगायतका रहेका छन् ।
चुनावी घरदैलोमा जाँदा राप्रपाप्रति जनताको आकर्षण आफूहरुले व्यापक रुपमा पाएको प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठले बताए । जनताको माया र सदभावबाट आफूहरु अत्यन्तै प्रभावित भएको भन्दै उनले चुनाव जित्नेमा ढुक्क रहेको बताए ।
राप्रपाले काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा डा. ठाकुरमोहन श्रेष्ठ, प्रदेशसभा क मा रिद्धिप्रताप जबरा र ख मा पुण्यलाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।