Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

तिहारमा २० करोडको झिलिमिली बत्ती बिक्री हुने अपेक्षा


नेपाल विद्युतीय व्यवसायी महासंघले यो वर्षको तिहारमा करिब २० करोड रुपैयाँ हाराहारीको झिलिमिली बत्ती बिक्री हुने अपेक्षा लिएको छ । यो आँकलन सही भएमा गत वर्षको तिहारको तुलनामा ५० प्रतिशतले माग घटेको हुनेछ । गत वर्षको तिहारमा करिब ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत भएको महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए ।
उनले रातोपाटीसँग भने, ‘अघिल्ला वर्षहरूभन्दा यो वर्ष आयात र बजारको खरिदबिक्री पनि छैन । अघिल्ला वर्षहरूमा जस्तो चहलपहल देखिएको छैन ।’ तिहारको चहलपहल लक्ष्मीपूजादेखि सुरू हुने भएकाले पनि व्यापार विस्तारै बढ्नेमा पौडेल आशावादी छन् ।’

उज्यालोको चाड मानिने भएकाले तिहारमा अलि बढी झिलिमिली बत्तीको कारोबार हुने उनको भनाइ छ ।
तर, गत वर्षको तुलनामा बजारको माग ५० प्रतिशतले घटेको उनको भनाइ छ । कोरोना महामारीको अघिल्लो वर्षमा तिहारको समयमा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत हुनेमा पछिल्लो समय यसको माग घट्दै आएको महासंघको भनाइ छ । खासगरी, चीनतर्फका नाका बन्द हुँदा समुद्री मार्गमार्फत आयात गनुपर्ने बाध्यता छ । यस्तै, नेपाल राष्ट्र बैंकले एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा समेत आयात घटेको र आयातित वस्तु महँगो हुँदा खपत घट्ने भएको पौडेलले बताए ।

यो वर्ष झिलिमिली बत्तीको मूल्य ३० प्रतिशतसम्म महँगो बन्नसक्ने अनुमान महासंघले गरेको छ । गत वर्ष समेत अघिल्लो वर्षको तुलनामा ३० प्रतिशले यस्ता वस्तुको मूल्य बढेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार