Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

काठमाडौं ७ मा चुनौती बन्दै कान्छा उम्मेदवार, यस्तो छ पृष्ठभूमी


काठमाडौं ७ का सबैभन्दा कान्छा उम्मेदवार हुन्, किरण केसी । प्रतिनिधिसभा सदस्यतर्फ यस क्षेत्रबाट उम्मेदवारी दिएका २९ जना मध्ये सबैभन्दा कम उमेर उनैको हो । निर्वाचन आयोगबाट खुकुरी क्रस चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका केसी २८ वर्षका भए ।

२८ देखि ६८ वर्ष उमेरसम्मका उम्मेदवार रहेको यो क्षेत्रमा १३ जना विभिन्न पार्टीबाट उम्मेदवार छन् भने १६ जना स्वतन्त्र छन् । यसअघि एमालेबाट सांसद तथा मन्त्री सम्म भइसकेका रामवीर मानन्धरदेखि सबैभन्दा कान्छा उम्मेदवार किरण केसीसम्मको उम्मेदवारीले यो क्षेत्रको चुनावी रौनक निकै रोचक बनेको छ । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र कित्तामा उभिएका रामवीरलाई स्वतन्त्र मुभमेन्टमा लागेकाहरुले स्वतन्त्र भन्दा पनि एमालेको बागी उम्मेदवारका रुपमा लिने गरेका छन् ।

एमालेबाट उम्मेदवारी दिएका श्यामकुमार घिमिरे यस क्षेत्रका उम्मेदवारहरुको सूचीमा सबैभन्दा जेठा उम्मेदवार हुन् । ६८ वर्षिय उम्मेदावर घिमिरेसँग युवा तथा सबैभन्दा कान्छा उम्मेदवार किरण केसीको प्रतिष्पर्धाले यो क्षेत्रको चुनावी रौनक नै बेग्लै बनेको छ ।

गत स्थानीय तहको निर्वाचनमा मेयरमा स्वतन्त्र रुपमा उठेका बालेन साहलाई काठमाडौंले जिताएका कारण पनि यो निर्वाचनमा स्वतन्त्र तथा युवा मुभमेन्ट बलियो बन्ने केही राजनीतिक विश्लेषकहरुको आँकलन छ । ३० मुनिका युवा यो क्षेत्रबाट किरण केसी मात्रै हुन् । अन्य स्वतन्त्रहरुको उमेर ३० वा सो भन्दा माथि छ ।

स्वतन्त्र उम्मेदवार केसी मेकानिकल इञ्जिनियर हुन् । मेकानिकल इञ्जिनियरिङ पढेका केसीले भारतमा सन् २०१७ मा सम्पन्न भएको २०० भन्दा बढी कलेज सम्मिलित AIETC नामक प्रोजेक्ट एक्जिबिसनमा पहिलो भएर अन्तराष्ट्रिय चर्चा पाएका थिए । सन् २०१७ मा नै उनले पहिलोपटक नेपालमा अटोमेटिक बाइक वासिङ मसिन ल्याएका थिए भने अपि हाइड्रोपावरको हाइड्रो मेकानिकल इञ्जिनियरका रुपमा समेत उनले काम गरेका थिए ।

अष्ट्रेलियामा मासिक लाखौंको कमाई छाडेर देश बनाउँन आफू नेपाल आएको भन्दै उनले चुनाव सजिलै जित्ने दाबी गरेका छन् । आफ्ना पिता ध्रुब बहादुर केसीको समाजसेवाबाट प्रभावित भएर राजनीतिमा लागेको बताउँने गरेका किरण मतदाताको आशिर्वाद पाउनेमा विश्वस्त छन् । उनी भन्छन्, ‘ टेष्टेड र टुरिष्ट उम्मेदवारलाई जनताले मत दिएर गल्ती गर्नुहोला भन्ने मलाई लाग्दैन । मत मलाई नै आउँछ किनकि म युवा मात्रै नभई भिजन सहित चुनावमा होमिएको व्यक्ति पनि हो । ’


प्रतिक्रिया दिनुहोस !
विचार