Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

अध्यक्ष नेपाललाई निर्वाचन कसुरमा कारवाही गर्न रौतहट प्रहरीलाई पत्र


निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको छ ।  बिहीबार आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई नेपाललाई आवश्यक कारवाही प्रकृया अगाडि बढाउन आग्रह गरेको हो ।

रौतहट क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा सो क्षेत्रका उम्मेदवार माधवकुमार नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएकोप्रति आयोगको ध्यानाकर्षण भएको हो । नेता नेपालले ‘बिना ढेउवा के भिसा मिल हे, टिकट मिलते हैं, काठमाण्डौमे तलिम मिल्ते हैं’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सोप्रति आयोगको गम्भिर ध्यानाकर्षण भई पत्र लेखेको हो ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २० को उपदफा १ को खण्ड च मा उम्मेदवारले कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था रहेको र सोही ऐनको दफा २० को उपदफा १ को खण्ड ‘च’ विपरितको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था रहेको जनाएको छ ।

माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकोले सम्बन्धमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारवाही गर्न आयोगले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार