रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी महोत्तरी क्षेत्र नं १ मा ठूला पार्टीहरुका लागि चुनौतीका रुपमा देखिएको छ । घन्टी चुनाव चिन्ह सहित चुनावी मैदानमा उत्रिएको यो पार्टीले महोत्तरी १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार खेमकुमारी भुर्तेल (उर्मिला ) लाई बनाएको छ भने यो क्षेत्रबाट प्रतिनिधिसभातर्फ १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
उम्मेदवारको संख्या धेरै रहेपनि यो क्षेत्रमा मुख्य प्रतिष्पर्धा सत्ता गठबन्धनका उम्मेदवार गिरिराजमणी पोखरेल, एमालेकी लक्ष्मी महतो कोइरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेल (उर्मिला )का बीचमा हुने देखिएको छ । राप्रपा, जनमत पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका पार्टीका उम्मेदवार पनि यो क्षेत्रको चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवारहरुको संख्या नै ७ रहेको छ ।
पटक पटक मन्त्री र सांसद बनिसकेका सत्ता गठबन्धनका गिरिराजमणी पोखरेलदेखि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेल (उर्मिला ) सम्मको उम्मेदवारीले यो क्षेत्रको चुनावी माहोल तातिएको छ । पटक पटक मन्त्री बनेर पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा पोखरेलले ठोस काम नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार भुर्तेलले यसपटकको मत आफूलाई दिन आग्रह गरिरहेकी छिन् ।
रवि लामिछानेको क्रेजका कारणले पनि स्वतन्त्र पार्टीकी उर्मिलालाई यो क्षेत्रमा केही सहज भएको देखिन्छ । विचार र सिद्धान्त नमिल्ने दलहरु एकठाउँमा उभिएको भन्दै गठबन्धनको आलोचना भइरहेको र, अन्य दलहरुले समेत त्यस क्षेत्रमा स्थापित मानिएका व्यक्तिहरुलाई उम्मेदवारका रुपमा अघि नसार्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उर्मिला बलियो देखिन्छिन् ।
सामाजिक अभियन्ताका रुपमा लामो समय काम गरेकी उर्मिलाको पल्ला यो क्षेत्रमा भारी हुन्छ या गठबन्धन तथा अन्य उम्मेदवारहरुकै भन्ने विषयका लागि भने मंसिर ४ नै कुर्नुपर्ने हुन्छ ।