काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट उम्मेदवारी दिएका डा.ठाकुरमोहन श्रेष्ठ पशुपति जयबागेश्वरी पुग्दा बुधबार माहोल बेग्लै देखिएको थियो ।
नेपाल सम्बत ११४३ का अवसरमा त्यस क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुन जयबागेश्वरी पुगेका श्रेष्ठसँग फोटो खिचाउनेको लहर देखिन्थ्यो भने नेवारी पोशाकमा सजिएकाहरुले उनको भव्य स्वागत समेत गरेका थिए ।
नेपाल सम्वत ११४३ का अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उम्मेदवार श्रेष्ठले नेवारी बाजा समेत बजाएका थिए । नेवारी सभ्यता र संस्कृति विश्वकै नमुना संस्कृति भएको बताउँदै उनले नेवारको छोरो हुनुमा आफूलाई गर्व रहेको बताए ।
आफूहरुको मौलिक पर्व र संस्कृतिको रक्षा अरु पार्टीबाट हुन नसक्ने देखेर आफू राप्रपामा प्रवेश गरी उम्मेदवार बनेको उनको भनाई थियो । संस्कृति र सभ्यता सबैभन्दा ठूलो सम्पति रहेको बताउँदै उनले यसको संरक्षणका लागि पनि राप्रपाका उम्मेदवारहरुलाई मतदान गर्न सबैसँग आग्रह गरे ।