भक्तपुर, २१ कार्तिक । बागमती प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पहिलोपटक आफ्नो प्रदेश मातहतका १३ जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा भएका आयुर्वेद स्वास्थ्यको बारेमा छुट्टै समिक्षा गोष्ठी आयोजना गरेको छ ।
विगतका वर्षहरुमा आधुनिक चिकित्सा र परम्परागत स्वास्थ्य (आयुर्वेद) सेवालाई एकै ठाउँमा राखेर समिक्षा गर्ने गरिएकोमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले यो आर्थिक वर्षदेखि अलग रुपमा समिक्षा गर्न शुरु गरेको हो ।
गत आर्थिक वर्ष २०७८/०७९ मा बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित परम्परागत आयुर्वेद स्वास्थ्य सेवामा देखिएका कमी कमजोरी, बजेट, कर्मचारी प्रशासन लगायतका बारेमा सुक्ष्मरुपमा जानकारी लिएर परम्परागत आयुर्वेद चिकित्सा सेवालाई स्थानीय स्तरसम्म सुलभ र सरल रुपमा विस्तार गर्न पहिलोपटक अलग रुपमा समिक्षा गरिएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताए ।
सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरमा भएको दुईदिने समिक्षा गोष्ठीको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य मन्त्री निमा लामाले उद्घाटन गर्दै नेपालको परम्परागत र पुरानो आयुर्वेद उपचार पद्धतिको संरक्षण र विकास गर्न बागमती प्रदेश सरकारले बजेट वृद्धि गर्नेदेखि आयुर्वेद उपचार केन्द्रको भौतिक संरचना सुधार र नयाँ निर्माणमा उच्च प्राथमिकता दिएको बताए ।
संघीय सरकारले स्वास्थ्यमा विनियोजन गरेको कूल बजेटको करीव ५ अरव रुपैयाँ बागमती प्रदेशको स्वास्थ्यको लागि परेको र आयुर्वेदको लागि मात्रै प्रदेशमा करीव ३५ करोड छुटट्याइएको पनि मन्त्री लामाले बताए ।
उनले परम्परागत चिकित्सा पद्धतिमा आयुर्वेद, युनानी, फिजियोथेरापि, आम्ची, अकुपञ्चर लगायतलाई अबदेखि क्रमशः प्राथमिकताका साथ विकास गरिँदै लगिने पनि बताए । समिक्षा गोष्ठीमा आयुर्वेदका वीज्ञहरुले आआफ्नो भनाई राखेका थिए ।