
काठमाडौं क्षेत्र नं १ का शंख चुनाव चिन्हका उम्मेदवार बालकृष्ण नेउपानेले प्रकाशमान सिंह र रवीन्द्र मिश्रहरुले चुनावी फण्डा गरेको आरोप लगाएका छन् । केही उम्मेदवारहरुले प्रकाशमान सिंह, रवीन्द्र मिश्र लगायतका उम्मेदवारलाई समर्थन गर्दै आफूहरुको उम्मेदवारी निष्क्रिय बनाएको खबर सार्वजनिक भइरहेका बेला प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेउपानेले यसलाई चुनावी फण्डाको संज्ञा दिएका हुन् ।
बिहिबार साँझ रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै नेउपानेले केही उम्मेदवारबीच करोडौंको लेनदेन भएको आरोप लगाए । निर्वाचन आयोगले दिएको समय सिमाभित्र उम्मेदवारी फिर्ता नलिएर निर्वाचनको मुखैमा केहीले उम्मेदवारी निष्क्रिय पार्नुले यो कुरालाई पुष्टि गरेको उनको भनाई छ । उनले ती उम्मेदवारहरुको बैंक खाता परिक्षण गर्न समेत निर्वाचन आयोगलाई आग्रह गरे । आर्थिक र नैतिक भ्रष्टाचारमा लिप्त भएकाहरुलाई मत नदिन आग्रह गर्दै उनले भ्रष्टाचारको अन्त्यका लागि शंख चिन्हमा मत हाल्न सबैसँग अपिल गरे ।
पत्रकार सम्मेलनमार्फत उनले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ :
प्रेस विज्ञप्ती
चुनावी फण्डाबारे सचेत रहन आग्रह
प्रिय पत्रकार मित्रहरु १ यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही स्थानमा उम्मेदवारहरुले गरेका अनेकन फण्डाबारे तपाईँहरु अवगत नै हुनुहुन्छ । काठमाडौं निर्वाचन क्षेत्र नं १ पनि त्यो फण्डाबाट अछुतो रहेको छैन ।
केही उम्मेदवार जसले आफैंले आफ्ना क्षेत्रमा डमी उम्मेदवार उठाउँने र उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरेको भन्दै केही नाटकीय कामहरु यो क्षेत्रमा भइरहेका छन् । निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता नलिने तर, निर्वाचनको मुखैमा आएर मेरो समर्थन फलानोलाई भन्नुले ती कथित उम्मेदवारहरुको नैतिकतामाथि गम्भिर प्रश्न उठेको छ ।
यो क्षेत्रमा केही उम्मेदवारले प्रकाशमान सिंहलाई समर्थन गरेको, केहीले रविन्द्र मिश्रलाई समर्थन गरेको, केहीले एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायतलाई समर्थन गरेको भन्ने जस्ता समाचार जो आइरहेका छन् । ती समाचार स्वभाविक प्रकृतिका छैनन् । निर्वाचन आयोगले दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएर चुनावको मुखैमा जनतालाई भ्रमित पार्नेगरी उम्मेदवारी निष्क्रिय पारेको भन्नुले ठूलो आर्थिक लेनदेन भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । त्यसैले एकले अर्कालाई समर्थन गर्ने नाममा भएका करोडौंका खेलबारे समयमै बुझ्न म सबै मतदातामा हार्दिक अपिल गर्दछु ।
आज करोडौं रुपैंयाँको चलखेल निर्वाचनको मैदानमा नै भइरहेको छ भने ती उम्मेदवारहरुबाट तपाईँ हामीले भोलिका दिनमा के अपेक्षा गर्न सक्छौं ? निर्वाचनको मुखमै आर्थिक र नैतिक भ्रष्टाचारमा लिप्त भएका व्यक्तिहरु निर्वाचित भए भने भोलिका दिनमा यो देशको हालत झन् के होला ? त्यसैले सबै मतदातालार्ई सचेत हुँदै नैतिकहिनहरुलाई ब्यालेट बक्सबाटै जवाफ दिनेगरी मंसिर ४ गते शंख चुनाव चिन्हमा मतदान गर्न म प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नं १ को उम्मेदवार बालकृष्ण नेउपाने सबैमा हार्दिक अनुरोध गर्दछु ।
सँगसँगै म मतदाताहरुसँग मेरो उम्मेदवारीका सन्दर्भमा बुँदागत रुपमा निम्नलिखित आग्रह पनि गर्दछु :
१. म शंख चुनाव चिन्हको उम्मेदवार बालकृष्ण नेउपाने एमसीसीका बिरुद्ध सडकमा उभिएको थिएँ, एमसीसीका बिरुद्ध दिनदिनै सडकमा गएर बोलेको थिएँ । तपाईँलाई एमसीसीको विरोध गर्नैपथ्र्यो भन्ने लागेको भए मत दिनुहोला, नत्र मलाई मत नदिनुहोला ।
२. म टनकपुर सन्धिका विरुद्ध सर्वोच्च अदालत गएर मैले महाकाली जोगाएको थिएँ, यदि तपाईँलाई महाकाली जोगाउने काम गरेर बालकृष्णले ठिक ग¥यो भन्ने लाग्छ भने मत दिनुहोला, नत्र मलाई मत नदिनुहोला ।
३. विदेशीलाई नागरिकता दिनेगरी धेरै वर्षअघि पनि सरकारले नागरिकता विधेयक ल्याएको थियो । त्यसका विरुद्ध सर्वोच्च अदालत गएर मैले त्यो विधेयक खारेज गराएको थिएँ । तपाईँलाई बालकृष्ण नेउपानेले त्यसो गरेर ठिक ग¥यो भन्ने लागेको भए मत दिनुहोला, नत्र मलाई मत नदिनुहोला ।
४. बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा सानालाई ऐन र ठूलालाई चैन हुनेगरी सरकारले माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिन खोजेको थियो । त्यसका विरुद्ध सर्वोच्च अदालत गएर मैले मुद्धा हालेको छु । सर्वोच्च गएर बालकृष्णले ठिक ग¥यो भन्ने तपाईँलाई लागेको भए मत दिनुहोला, नत्र मलाई मत नदिनुहोला ।
५. प्रधानमन्त्री, मन्त्री र संसद सदस्यलाई अख्तियारले छुन नपाउँने गरी मन्त्रिपरिषदले कुनैबेला निर्णय गरेको थियोे । म त्यसका विरुद्ध सर्वोच्च अदालत गएर पियनदेखि प्रधानमन्त्रीसम्म जो कोहीलाई अख्तियारले समात्न पाउनेगरी आदेश गराउँन सफल भएको थिएँ । त्यही आदेशकै आधारमा अहिले धेरै भ्रष्टाचारीहरु जेलमा छन् । त्यो काम तपाईँलाई ठिक लागेको भए मत दिनुहोला, नत्र नदिनुहोला ।
धन्यवाद ।
बालकृष्ण नेउपानेः उम्मेदवार, प्रतिनिधिसभा सदस्य, क्षेत्र नं १ काठमाडौं ।