Logo
२०८१, २९ कार्तिक बिहीबार
|  Thu Nov 14 2024

रविको नागरिकता प्रकरणले घन्टीको क्रेज घटाउला कि बढाउला ?


चुनावको मुखैमा पार्टी सभापतिको नागरिकता विवाद सतहमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु चिन्तामा पर्नु अस्वभाविक होइन । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्र्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेपछि यो विषयले केहिदिनयता राजनीतिक सरगर्मी बढाएको छ ।

रवि लामिछानेले नागरिकताको विषय ४ वर्षअघि नै सेटल भइसकेको दाबी गरेपनि यसबारे कानुनी प्रश्न अझै जिवित रहेको कानुनका जानकारहरुको भनाई छ । केहीवर्षअघि अमेरिकी नागरिकता लिएका लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि आफ्नो नेपाली नागरिकता स्वतः सक्रिय भएको जिकिर गरेका छन् । तर, नागरिकता सम्बन्धि विषयमा नै त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका एसके तिमिल्सिना कानुनी दृष्टिमा यो जिकिर मान्य नहुने बताउँछन् ।

विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज हुने र पुनःप्राप्तीका लागि विदेशी नागरिकता त्यागेको निस्सासहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उल्लेखित ढाँचा सहितको निवेदन दिनुपर्ने उनको तर्क छ । उनी भन्छन्, ‘नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ ले नागरिकता पुनःप्राप्तीबारे प्रष्ट व्यवस्था गरेको छ । ’ उनका अनुसार नेपाली नागरिकता पुनःप्राप्तीका लागि विदेशी नागरिकता त्यागेकोे निस्सासहित अनुसूची ११ को ढाँचामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । तर, रवि लामिछानेले नागरिकता पुनःप्राप्तीका लागि प्रकृयामा नगएको स्वीकार गरेका छन् । २०५० सालमा लिएको नेपाली नागरिकता नै अहिले प्रयोग गरिरहेको उनलाई उधृत गर्दै कान्तिपुर राष्ट्रिय दैनिक सहितका विभिन्न सञ्चार माध्यमले बिहिबारको अंकमा विस्तृत समाचार नै लेखेका छन् ।

यता नागरिकताको विषय सार्वजनिक भइसकेपछि राजनीतिक वृत्तमा घन्टी चुनाव चिन्हको क्रेजका बारेमा विभिन्न प्रकारका विश्लेषण हुन थालेका छन् । रविको नागरिकताले घन्टीको क्रेज घटाएको कतिपयको अनुमान छ भने कतिपयले त्यसमा सत्यता नरहेको तर्क गरेका छन् । राजनीतिक विश्लेषक उद्धव सिग्देल भन्छन्, ‘ रवि लामिछानेले नियम मिच्दा त्यसको मारमा घन्टीका उम्मेदवारहरु पर्ने देखिन्छ ।’ पार्टी सभापतिले नै कानुन मिच्छन् भने अरु उम्मेदवारहरुको हालत के होला भन्ने मनस्थिती मतदातामा देखिएको खण्डमा त्यसले घन्टीका उम्मेदवारहरुलाई ठूलो असर पर्ने उनको विश्लेषण छ ।

पछिल्ला केही घन्टामा घन्टीको ग्राफ रवी लामिछानेको नागरिकता प्रकरणले नै घट्न सक्ने विश्लेषण उनकै पार्टीका केही नेताहरु पनि स्विकार गर्छन् । एक नेता भन्छन्, ‘रवि लामिछानेकै कारण बनेको पार्टीको क्रेज उहाँकै कारण घट्ने प्रबल सम्भावना देखिएको छ ।’

निर्वाचन आयोगले बिहिबार मात्रै रवि लामिछानेलाई नागरिकता प्रकरणमा स्पष्टिकरण सोधेपछि उनको उम्मेदवारी कायम रहने या नरहने भन्ने अन्यौलता समेत बढेको छ ।

घन्टीमा भोट हाल्ने मनस्थितीमा रहेका मतदाता गएको स्थानीय तहको चुनावसँगै स्वतन्त्र उम्मेदवारीको बहार ल्याउने लौरो चिन्हप्रति आकर्षित हुन सक्ने केहीको विश्लेषण पनि छ । लौरो चिन्हबाट चुनाव लडेर यसअघि स्थानीय तहको निर्वाचनमा काठमाडौंका बालेन साह र धरानका हर्क साम्पाङ मेयरमा विजयी भएपछि स्वतन्त्र उम्मेदवारीको लहर आएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार