Logo
३ भाद्र २०८३, बुधबार
|  Thu Aug 20 2026

रवीन्द्र मिश्रलाई १२५ मत अन्तरले पराजित गर्दै काठमाडौं १ मा प्रकाशमान सिंह विजयी, एक भोट ल्याउने पनि देखिए यो क्षेत्रमा


काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह राप्रपाका रविन्द्र मिश्रलाई १२५ मत अन्तरले हराउँदै विजयी भएका छन् । निर्वाचन आयोगले आयोगको साइटमा मंगलबार राती सार्वजनिक गरेको मत परिणाममा सिंहले ७१४३ र मिश्रले ७०१८ मत प्राप्त गरेको उल्लेख छ ।

यसपटक ८ हजार मत अन्तरले जित्ने दाबी गर्दै आएका मिश्र १२५ मत अन्तरले पराजित भएका छन् भने सिंहले काठमाडौं १ मा लगातार जितेर आफ्नो वर्चस्व कायम गरेका छन् । आफ्नै नेतृत्वमा रहेको विवेकशील साझा परित्याग गर्दै राप्रपाको वरिष्ठ उपाध्यक्ष बनेका रवीन्द्र मिश्र २०७४ को निर्वाचनमा ८१९ मत अन्तरले पराजित भएका थिए । २०७४ को निर्वाचनमा होमिनुअघि मिश्र बिबिसी नेपाली सेवाका प्रमुख थिए ।

काठमाडौं १ मा प्रकाशमान सिंहको विकल्प खोज्ने भन्दै रमेश खरेल, पुकार बम, बालकृष्ण नेउपाने लगाएतका नेता चुनावी मैदानमा उत्रिएपनि फरक फरक दलबाट उम्मेदवारी दिँदा र यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु समेत हावी हुँदा भोट बाँडिएर प्रकाशमान सिंहको अपराजित यात्रामा ब्रेक लाग्न सकेन । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४११५ मत प्राप्त गरे भने नेकपा एमालेका किरण पौडेलले ३५३२ मत प्राप्त गरे ।

नेपाल प्रहरीका पूर्व डिआइजी समेत रहेका नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल पाँचौ स्थानमा रहँदै ३१२४ मतमा सिमिति रहे भने नेपालका लागि नेपाली पार्टीका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ५९० मत प्राप्त गरे ।

अन्तिम समयमा रवीन्द्र मिश्रलाई सघाएको भन्दै उम्मेदवारी निष्क्रिय पारेका लौरो चुनाव चिन्हका उम्मेदवार डम्बर शाहुले १५० मत प्राप्त गरे भने यो क्षेत्रबाट उम्मेदवारी दिएका अन्य २५ जनाले सय भोट पनि कटाउँन सकेनन् । यो क्षेत्रमा एक भोट मात्रै ल्याउने स्वतन्त्र उम्मेदवार पनि देखिए । स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बु र खुमकला लामिछानेले एक भोट मात्रै ल्याए भने निर्जल शाह र संगिता राजबाहकले दुई दुई भोट ल्याए ।


प्रतिक्रिया दिनुहोस !
विचार