राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अत्यधिक मतका साथ यहाँबाट निर्वाचित भएका छन्।
८३९५६ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६४ भोट प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४९८३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाए।
लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४२८१ भोट बढी पाएका छन्।
चितवन(२ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो। यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै थियो।
त्यसैले यहाँ एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान थियो। तर रविको प्रवेशले यहाँको राजनीतिक नक्सा बदलिदियो।
परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै रवितिर कित्ता सरेपछि उनी बलियो बनेका हुन्।





