Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

काठमाडौँका रेष्टुरेण्ट अब १२ बजेसम्म खोल्न पाइने


काठमाडौंमा सञ्चालन भइरहेका रेष्टुरेण्टहरू अब रातको १२ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि रातको १० बजेसम्म मात्रै खोल्न पाइने रेष्टुरेण्टको समय बढाएर अब १२ बजेसम्म बनाइएको हो ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लब खुला गर्ने समयमा परिवर्तन गरेको हो ।

मदिरा पसल, रेष्टुरेण्ट, बार तथा दोहोरी साँझ र नाइट क्लब खुला हुने समयमा परिवर्तन गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेलका जानकारी दिइन् । ढुङ्गेलका अनुसार अब मदिरा पसलहरू राती १० बजेसम्म खुला गर्न पाइने छ । बोतलबन्दी वा बिर्कोसहित बिक्री हुने मदिरा पसलहरू रातको १० बजेसम्म मात्रै खुला गर्न पाइने छ ।

त्यसैगरी रेष्टुरेण्टहरू रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि राती १० बजेसम्म मात्रै खुला गर्न पाउने रेष्टुरेण्टलाई १२ बजेसम्म खुला गर्न पाउने बनाइएको हो । रेष्टुरेण्ट व्यवसायीबाट व्यापक गुनासो आएपछि रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको सहायक प्रजिअ ढुङ्गेलले बताइन् ।

त्यसैगरी डान्स बार, दोहोरी रेष्टुरेण्ट, लाउन्ज, पब र बारहरु बिहानको २ बजेसम्म खुला गर्न दिने निर्णय भएको छ । डिजेसहितको नाइट क्लब भने बिहानको ४ बजेसम्म खुला राख्न पाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार