नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले आफु पदका लागि पार्टी प्रवेश गरेको भन्नु गलत भएको बताएका छन् ।
मंगलबार समाजवादी पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा गुरुङले आफु जनताको सेवाका लागि पार्टी प्रवेश गरेको भन्दै पदको कुनै लोभ नभएको बताएका हुन् ।
अव एकीकृत समाजवादी छाडेको खण्डमा आफुले राजनीति नै नगर्ने उनले बताए । गुरुङले यसअघि आफ्नै कारणले गठबन्धनले सरकार बनाउन सकेको भन्दै ठूला ठूला मन्त्रालयहरुको अफर आए पनि आफूले युवा तथा खेलकुद मन्त्रालय नै रोजेको धारणा राखे । उनले आफु मुख्यमन्त्रीको दाबेदार नभएको पनि बताए ।
गुरुङलाई पार्टी कार्यालयमा समाजवादीका महासचिव बेदुराम भुसाल लगाएतले स्वागत गरेका थिए । गुरुङलाई स्वागत गर्दै भुसालले विगतलाई लिएर धेरै टीकाटिप्पणी गर्नु उचित नभएको बताए ।