Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

कस्तो बन्नेछ नेपालकै पहिलो ‘फ्लाइओभर’ ?


नेपालकै पहिलो ‘फ्लाइओभर’को निर्माण शुक्रबारदेखि सुरू हुने भएको छ।

ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य लिएको छ।

आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरू गर्न लागेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए। फ्लाइओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ।

चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो। ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ।

कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दाँयातर्फ र ११० मिटर बाँयातर्फ र्‍याम्प निर्माण गरिनेछ।

सुरूमा त्यहाँ ब्यारेकेडहरू राखेर काम सुरू गरिनेछ। खन्ने लगायतका काम गर्न भने अझै समय लाग्ने सडक विभागका अध्‍ययन तथा अनुसन्धान शाखाका सिडिई सौरभ बज्राचार्यले बताए।

काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो।


प्रतिक्रिया दिनुहोस !
विचार