रास्वपाले समानुपातिकको बन्द सूचीमा राख्ने नामका लागि प्रारम्भिक छनोट गरेको छ । त्यसमा ल्याएको मतका आधारमा बन्द सूचीमा राख्नेहरुको क्रम तय गरिएको थियो ।
आयोगमा त्यही क्रम अनुसार नै नाम पठाए पनि अन्तिममा १३ जना सांसद छान्दा भने त्यसलाई ख्याल नगरिएको कतिपयको गुनासो छ । जस्तै– मधेशी कलस्टरबाट समानुपातिकतर्फ मनिष झा सांसद बन्दैछन् । तर, चुनावमा पाएको मतमा मधेशी समुदायतर्फ नै लक्ष्मी तिवारी मनिष भन्दा अगाडि छिन् । आयोगमा पठाएको सूचीमा तिवारी ६ नम्बर छिन् भने झा ९ औं स्थानमा छन् ।
यसैगरी खसआर्य समुदायबाट डा. चन्दा कार्की र निशा डाँगी आयोगमा पठाएको सूचीमा गणेश कार्की र दीपक बोहोरा भन्दा अघि छन् । अरु धेरै उम्मेदवार पनि सूचीमा अघि भए पनि सांसद बन्ने सूचीमा नपर्ने देखिएको छ ।
घिमिरेले चुनाव गरेर क्रम संख्या तय गरेको र त्यही आधारमा सांसद पठाउने बुझाइ यसअघि बनेको बताए । तर, अब केन्द्रीय समितिबाट हुने निर्णय नै अन्तिम हुने उनको भनाइ छ । ‘हाम्रो दलले केन्द्रीय कमिटीबाट अनुमोदन गरेर लैजान्छ,’ घिमिरेले भने, ‘जे जस्तो निर्णय हुन्छ, त्यहीँ हुन्छ ।’
यी हुन् रास्वपाबाट समानुपातिक सांसद बन्ने सम्भावित उम्मेदवारहरु
१. डा. ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)
२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)
३. असिम साह (मुस्लिम पुरुष)
४. मनिष झा (मधेसी पुरूष)
५. इन्दिरा राना मगर (आदिवासी महिला)
६. सुमना श्रेष्ठ (आदिवासी महिला)
७. अशोक चौधरी (थारु पुरुष)
८. तपेश्वर यादव (मधेशी पुरुष)
९. गणेश कार्की (खस आर्य पुरुष)
१०. दीपक बोहोरा (खस आर्य पुरुष)
११. सन्तोष परियार (दलित पुरुष)
१२. कल्पना रोक्का (दलित महिला)
१३. विनिता कठायत (पिछडिएको वर्ग महिला)