संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्दैछन् ।
शुक्रबार सर्वोच्च अदालतले के कति कारणले महाअभियोग निष्प्रभावी भएको पत्र लेखिएको हो भन्नेबारे जवाफ दिन संघीय संसदका महासचिवको नाममा समेत आदेश जारी गरेको छ । त्यस अनुसार महासचिव गौतम लिखित जवाफको तयारीमा जुटेका हुन् ।
‘शुक्रबार सर्वोच्चको आदेश भएको छ । आइतबार (आज) आदेशका सम्बन्धमा छलफल हुन्छ,’ संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।
शुक्रबार कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।
साथसाथै, संवैधानिक इजलासले के कति कारणले पत्र लेखिएको हो भन्नेबारे जवाफ दिनसंघीय संसदका महासचिवको नाममा आदेश जारी गरेको थियो ।