प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा जिम्मेवारी दिएको भन्दै तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताएका हुन् ।
उनले महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचिन सम्पदाहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव भएको भन्दै यसलाई संरक्षण गर्न सवै मिल्नुपर्ने धारणा राखे ।
उनले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउन महानगर अझै क्रियाशिल हुने विश्वास पनि व्यक्त गरे ।
त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकाको जनघनत्व बढ्दै गएकाले अव मेट्रो रेलको बिकल्प नभएको र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए । उपत्यकाभित्रको संस्कृति र सम्पदाको जगेर्ना गर्न काठमाडौं महानगरसंग हातेमालो गर्दै अघि बढ्ने उनले बताए ।
त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि र सम्पदाहरुको संरक्षणमा ललितपुर महानगरसंगको सहकार्यलाई थप प्रभावकारी बनाउने जिकिर गरे ।