Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

निर्वाचन आयोगले सात वटै प्रदेशलाई बुझायो निर्वाचनको परिणामसहितको प्रतिवेदन


निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन शनिबार एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको कार्यालयमा अलगअलग रूपमा प्रतिवेदन बुझाएको हो । यसै क्रममा निर्वाचन आयोग लुम्बिनी प्रदेश कार्यालयले प्रदेशका १२ वटा जिल्लाहरुमा भएको निर्वाचन मत परिणाम प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको प्रदेश सभातर्फ ८७ जना निर्वाचित भएका छन् । जसमा पुरुष ५४ जना ६२.०७ प्रतिशत र महिला ३३ जना ३७.९३ प्रतिशत निर्वाचित भएको उल्लेख छ । आयोगले प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीतर्फ २५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ वटा राजनितिक दलहरु निर्वाचनमा सहभागी जनाएको छ । प्रतिवेदन ग्रहण गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले निर्वाचन सम्पन्न भएर प्रतिवेदन समेत प्राप्त भएपछि आफुमा निकै खुसी र विश्वास जागेको बताए । देशमा संघियता व्यवस्था फलिफाप नभएको भन्नेहरुका लागि निर्वाचन परिणामले संघियता व्यवस्थालाई आमजनताले आफ्नो मत दिएर पुष्टि गरेको उनले बताए ।

प्रदेश प्रमुख शेरचनले विगतका निर्वाचन र अहिलेको निर्वाचनमा आफुले धेरै सहज एंव फरक अनुभव संलागेको जनाउँदै सरल प्रक्रिया वनाएर निर्वाचनमा जनतालाई सहजता प्रदान गरेकोप्रति निर्वाचन आयोग र आयुक्त लगायतलाई धन्यवाद दिए । प्रतिवेदन बुझाएसंगै सवै प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया अघि वढ्ने बाटो खुलेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार